ह्वावेको ‘एसकेन्ड ९५०’ एआई चिप्सको मागमा ठूलो उछाल आएको छ। सेन्जेनमा आधारित प्रविधि कम्पनी ह्वावेकै चिप्समा चल्ने गरी डिजाइन गरिएको ‘डिपसिक भी४’ आर्टिफिसियल इन्टेलिजेन्स मोडल सार्वजनिक भएपछि चीनका प्रमुख इन्टरनेट कम्पनीहरू अर्डर सुरक्षित गर्न हतारिएका छन्।
बाइटडान्स, टेन्सेन्ट र अलिबाबा जस्ता चीनका सबैभन्दा ठूला इन्टरनेट फर्महरूले नयाँ चिप अर्डरका लागि ह्वावेसँग छलफल गरिरहेको जनाइएकाे छ । क्लाउड कम्प्युटिङ र ग्राफिक्स प्रोसेसिङ युनिट (जिपियू) भाडामा दिने सेवाहरूमा विशेषज्ञता हासिल गरेका कम्पनीहरू पनि अर्डर दिन तँछाडमछाड गरिरहेका छन्।
ह्वावेको ९५० पिआर चिपले एनभिडियाको एच२० चिपलाई कार्यक्षमतामा उल्लेख्य रूपमा पछि पारेको छ। एच२० एनभिडियाले चीनमा बेच्न अनुमति पाएको सबैभन्दा शक्तिशाली चिप थियो, जसको आयातमा बेइजिङले गत वर्ष रोक लगाएको थियो।
यद्यपि, ह्वावेको यो चिप अझै पनि अमेरिकी कम्पनी एनभिडियाकै अर्को उन्नत प्रोसेसर एच२०० भन्दा पछि नै छ, जुन हाल नियामक अन्योलमा फसेको छ।
अमेरिका र चीन दुवैबाट निर्यातको स्वीकृति पाए पनि, एच२०० चिप अझै चीन पठाइएको छैन। वाशिङ्टन र बेइजिङबिच यसको बिक्रीका सर्तहरूलाई लिएर मतभेद कायम रहँदा ह्वावेलाई आफ्ना सेमिकन्डक्टरहरू बेच्ने ठूलो अवसर मिलेको राेयटर्सले जनाएकाे छ।
९५० पिआर चिप ह्वावेका लागि एक ठूलो सफलता साबित भएको छ, किनकि कम्पनीले वर्षौंदेखि चीनको टेक क्षेत्रबाट ठूला अर्डरहरू पाउन संघर्ष गरिरहेको थियो।
गत हप्ता डीपसिक भी४ सार्वजनिक भएपछि चीनको स्वदेशी एआई हार्डवेयरको माग तीव्र बनेको छ। अमेरिकी निर्यात नियन्त्रणले एनभिडियाका अत्याधुनिक प्रोसेसरहरूमा पहुँच रोकिदिएपछि चिनियाँ कम्पनीहरू ह्वावेप्रति विश्वस्त देखिएका हुन्।
डीपसिकले आफ्नो भि४ मोडललाई विशेष गरी ह्वावेको चिप्सका लागि ‘अप्टिमाइज’ (अनुकूलन) गर्ने निर्णय गर्नुले अमेरिकी सेमिकन्डक्टरमाथिको निर्भरता घटाउने र चीनको आफ्नै एआई उपकरणतर्फ लाग्ने रणनीतिक परिवर्तनलाई संकेत गर्दछ। ह्वावेले आफ्नो एसकेन्ड सुपरनाेड पूर्वाधारले डीपसिक भी४ मोडललाई पूर्ण रूपमा सहयोग गर्ने र यसको सम्पूर्ण उत्पादन लाइन भी४ को कार्यसम्पादनका लागि तयार पारिएको जनाएको छ।
चिनियाँ चिप निर्माताहरूमध्ये ह्वावेको एक्सेन्ड ९५० शृङ्खला मात्र यस्तो स्वदेशी चिप हो जसले एआई गणनालाई कम्प्रेस्ड फर्म्याटमा प्रशोधन गर्न सक्छ। यसले गर्दा कम लागतमा प्रति सेकेन्ड धेरै गणनाहरू गर्न सम्भव हुन्छ।
यसैबिच, अलिबाबा क्लाउड र टेन्सेन्ट क्लाउडले डीपसिक भी४ सार्वजनिक भएकै दिन आफ्ना प्लेटफर्महरूमा यसलाई उपलब्ध गराएका छन्। यसको द्रुत तैनाथीले लाखौँ प्रयोगकर्ता र विकासकर्ताहरूलाई पहुँच पुर्याएको छ, जसले गर्दा चिप्सको माग अझ बढेको छ।
आपूर्तिको चुनौती कायमै
डिपसिकले आगामी मे ५ सम्म आफ्नो नयाँ मोडलमा ७५ प्रतिशत छुट दिएको छ। कम्पनीका अनुसार सन् २०२६ को दोस्रो अर्धवार्षिकमा ह्वावेका चिप्सहरू ठूलो परिमाणमा ढुवानी हुन थालेपछि यसको मूल्य अझ घट्न सक्छ।
यद्यपि, उच्चस्तरका स्वदेशी एआई चिप्सको सीमित आपूर्तिका कारण उत्पादन नबढुञ्जेलसम्म केही अभाव कायमै रहने कम्पनीले स्वीकार गरेको छ। डीपसिक भी४ मा दुईवटा संस्करणहरू छन्: १.६ ट्रिलियन प्यारामिटर भएको भि४-प्राे र २८४ बिलियन प्यारामिटर भएको भि४ फ्ल्यास । दुवै मोडलहरू खुला स्रोतको रूपमा उपलब्ध छन्, जसलाई कम्पनीहरूले स्वतन्त्र रूपमा प्रयोग र व्यापारिकरण गर्न सक्छन्।
ह्वावेले यस वर्ष ९५० पिआरका करिब ७ लाख ५० हजार थान चिप्स ढुवानी गर्ने योजना बनाएको छ। यसको मास प्रोडक्सन (ठूलो परिमाणमा उत्पादन) अप्रिलबाट सुरु भइसकेको छ र सन् २०२६ को दोस्रो छैठौँ महिनादेखि पूर्ण-स्तरको ढुवानी सुरु हुने अपेक्षा गरिएको छ। तर, उन्नत चिप बनाउने उपकरणहरूमा अमेरिकी प्रतिबन्धका कारण माग अनुसारको आपूर्ति पुर्याउन अझै चुनौतीपूर्ण देखिन्छ।


प्रतिक्रिया दिनुहोस्