सीमा क्षेत्रमा असन्तुष्टी देखिए पनि तस्करी नियन्त्रण आवश्यक थियोः रवि लामिछाने


काठमाडौँ । सीमा क्षेत्रमा कडाइ बढाएपछि देखिएको असन्तुष्टिबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार तस्करी नियन्त्रणमा पछि नहट्ने संकेत दिएका छन्। उनले खुला रूपमा फैलिएको तस्करी रोक्न कडा कदम अपरिहार्य भएको स्पष्ट पारेका हुन्।

आइतबार निजी क्षेत्रसँगको संवादमा बोल्दै लामिछानेले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिक जीवनशैली नै छिमेकी बजारमा निर्भर रहेको स्वीकार गरे। तर त्यही बहानामा भइरहेको संगठित तस्करीलाई राज्यले बेवास्ता गर्न नसक्ने उनको भनाइ थियो।

“सीमा क्षेत्रमा आवतजावत गरेर सस्तो किनमेल गर्नु जीवनशैलीको हिस्सा हुन सक्छ, तर त्यसैको आडमा भइरहेको खुला तस्करी स्वीकार्य हुँदैन,” उनले भने।

उनले सीमा कडाइका कारण स्थानीय स्तरमा केही असन्तुष्टि देखिएको स्वीकार्दै सरकार यसप्रति संवेदनशील रहेको बताए। उपभोक्ताको सहजता र स्वदेशी व्यवसायको संरक्षणबीच सन्तुलन कायम गर्ने गरी नीतिमा पुनर्विचार भइरहेको उनले जानकारी दिए।

लामिछानेले सस्तो विदेशी बजारका कारण सीमावर्ती क्षेत्रमा रहेका नेपाली व्यवसायीहरू प्रत्यक्ष प्रभावित भइरहेको उल्लेख गर्दै उनीहरूको संरक्षण सरकारको प्राथमिकतामा रहेको बताए। “हाम्रो लक्ष्य जनजीवन सहज बनाउनु पनि हो र स्वदेशी उद्यम–व्यवसायलाई उकास्नु पनि हो,” उनले भने।

सरकारले अहिलेको कडाइलाई दीर्घकालीन समाधानको रूपमा नभई व्यवस्थापनको चरणको रूपमा लिएको संकेत दिँदै उनले केही समयमै सन्तुलित नीति ल्याइने बताए।