रास्वपालाई निजी क्षेत्रका प्रतिनिधिहरूले भने : लगानीको वातावरण तयार गर्न प्याकेज ल्याउ


काठमाडौँ । दुई तिहाइ नजिकको सरकार बनेसँगै निजी क्षेत्रले नतिजा देखाउनुपर्ने दबाब बढाएको छ।

आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको निजी क्षेत्रसँगको संवाद कार्यक्रममा व्यवसायीहरूले एउटै स्वरमा लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधार र विशेष प्रोत्साहन प्याकेजको माग गरेका छन्।

कार्यक्रममा सहभागी व्यवसायीहरूले नेपालमा लगानीको सम्भावना पर्याप्त भए पनि वातावरण अभावका कारण अवसर गुमिरहेको बताएका हुन्।

टेलिकम क्षेत्रबाट बोल्दै माइकल फाेलेले नेपालको डिजिटल पूर्वाधार अत्यन्त कमजोर रहेको औंल्याए।

उनले फाइबर नेटवर्क, डाटा सेन्टर, अन्तर्राष्ट्रिय कनेक्टिभिटीदेखि ५जीसम्मका क्षेत्रमा ठुलो लगानी आवश्यक रहेको बताए। “नेपालमा लगानी गर्ने इच्छा छ, तर पूर्वाधार र नीतिगत अवरोधले गति रोकिएको छ,” उनले भने।

त्यस्तै उद्योगी बरूण चाैधरीले विदेशी लगानीकर्ताहरू नेपालका हाइड्रो, पूर्वाधार, पर्यटन र आइटी क्षेत्रमा सकारात्मक भए पनि ‘विश्वासयोग्य वातावरण’ नपाएको टिप्पणी गरे। “नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्नैपर्छ, नत्र लगानी आउँदैन,” उनले चेतावनी दिए।

कर संरचना सुधार पनि निजी क्षेत्रको मुख्य एजेन्डा बनेको छ। उद्योगी किशाेर प्रधानले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणाली लागू गर्न सरकारलाई आग्रह गर्दै अहिलेको १३ प्रतिशत एकैदर प्रणालीलाई अव्यावहारिक बताए।

यस्तै दिपक मलहाेत्राले सरकारको सात वर्षमा ३ हजार डलर प्रतिव्यक्ति आय र १०० अर्ब डलर अर्थतन्त्रको लक्ष्य ‘सम्भव तर चुनौतीपूर्ण’ रहेको बताए।

उनले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन कर दर घटाएर प्रणाली सरल बनाउनुपर्ने बताए ।