अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानद्वारा युद्ध अन्त्यका लागि पठाइएको पछिल्लो प्रश्तावमाथि चाँडै समीक्षा गर्ने बताएका छन् । यद्यपि, उक्त प्रस्ताव स्वीकार्य हुनेमा उनले गम्भीर शङ्का व्यक्त गरे ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’ मार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले भने, “म इरानले भर्खरै पठाएको योजनाको चाँडै समीक्षा गर्नेछु, तर त्यो स्वीकार्य होला भन्ने म कल्पना गर्न सक्दिनँ।”
यसअघि पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले आफूलाई उक्त सम्झौताको ‘अवधारणा’ बारे जानकारी गराइएको र अहिले विस्तृत मस्यौदाको पर्खाइमा रहेको बताए । उनले इरानलाई चेतावनी दिँदै भने, “यदि उनीहरूले खराब आचरण प्रदर्शन गरे वा कुनै गलत कदम चालेमा अमेरिकी सेनाले पुनः सैन्य कारबाही शुरु गर्नसक्ने सम्भावना छ।”
पाकिस्तानमार्फत अमेरिकालाई पठाइएको उक्त १४ बुँदे प्रश्तावमा इरानले मुख्यतया सैन्य आक्रमण विरुद्धको ग्यारेन्टी, यस क्षेत्रबाट अमेरिकी सेनाको फिर्ती, रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा र आर्थिक प्रतिबन्धहरू हटाउनुपर्ने माग राखेको छ ।
सञ्चारमाध्यमहरूका अनुसार उक्त प्रश्तावमा हर्मुज जलसन्धिका लागि नयाँ संयन्त्र निर्माण गर्नुपर्ने र लेबनानसहित सबै मोर्चामा जारी युद्ध अन्त्य गर्नुपर्ने विषय समेत समावेश गरिएको छ ।
हाल अमेरिका र इरानबीचको तनावपूर्ण सम्बन्धका बीच ट्रम्पको यो भनाइले कूटनीतिक वृत्तमा चासो बढाएको छ । उक्त प्रश्तावका विस्तृत बुँदाहरूको अध्ययनपछि अमेरिकाले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्