नेपाल–चीन सम्बन्धमा सन्तुलित र संवेदनशील कूटनीति अपरिहार्य : पूर्वराजदूतहरू


काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा नेपालका पूर्वराजदूतहरूले मुलुकको परराष्ट्रनीति विशेषगरी छिमेकी राष्ट्र चीनप्रति अझ सन्तुलित, संवेदनशील र दीर्घकालीन राष्ट्रिय हितअनुकूल हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

चीनका लागि नेपालका पूर्वराजदूतहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै नेपाल–चीन सम्बन्ध ऐतिहासिक मित्रता, आपसी सम्मान र असंलग्न परराष्ट्र नीतिमा आधारित रहेको उल्लेख गर्दै दुवै देशबीच विकसित विश्वासलाई संरक्षण र सुदृढ गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

वक्तव्यमा चीनले नेपाललाई सधैँ स्वतन्त्र र सार्वभौम मित्र राष्ट्रको रूपमा सम्मान गर्दै आएको उल्लेख गर्दै नेपालमा भइरहेका आर्थिक, सांस्कृतिक, शैक्षिक तथा पूर्वाधार विकासका विभिन्न परियोजनामा उल्लेखनीय योगदान पुर्‍याएको स्मरण गराईएको छ ।

चीनको सहयोगमा सञ्चालित परियोजनाहरूको प्रभावकारी कार्यान्वयनमार्फत नेपालले विकास लाभलाई थप विस्तार गर्न सक्ने विश्वास वक्तव्यमा गरिएको छ ।

पूर्वराजदूतहरूले चीन विश्वको दोस्रो ठुलो आर्थिक शक्ति भइसकेको र नेपालका लागि महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै नेपालको वर्तमान सामाजिक–आर्थिक चुनौती सामना गर्न चीनसँगको सहकार्य अझ उपयोगी हुन सक्ने धारणा राखेका छन् । तर, यस्तो सहकार्यको क्रममा नेपालको राष्ट्रिय स्वार्थ, स्वतन्त्र परराष्ट्र नीति, सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने उल्लेख गरिएको छ ।

वर्तमान विश्व राजनीतिक परिवेश जटिल बन्दै गएको, ठुला शक्तिहरूबिच प्रतिस्पर्धा तीव्र भएको र त्यसको प्रभाव दक्षिण एसियासम्म विस्तार भइरहेको सन्दर्भमा नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील मुलुकले विवेकपूर्ण र सन्तुलित कूटनीति अपनाउनुपर्नेमा वक्तव्यमा पूर्वराजदूतहरूले जोड दिएका छन् ।

विशेषतः भारत र चीन जस्ता दुई ठुला छिमेकी राष्ट्रबच सन्तुलन कायम गर्नु नेपालको कूटनीतिक प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै हाल देखिँदै आएका कतिपय सार्वजनिक कूटनीतिक अभिव्यक्तिहरूले अनावश्यक भ्रम र कूटनीतिक असहजता सिर्जना गर्न सक्नेप्रति सरकारको ध्यानाकर्षण गराइएको छ ।

पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, मोहन मास्के, लोचनजी पौडेल, विष्णु प्रकाश श्रेष्ठ र कृष्णप्रसाद ओलीले हस्ताक्षर गरेको वक्तव्यमा सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखी संवेदनशील, सन्तुलित र दूरदर्शी परराष्ट्रनीति अवलम्बन गर्ने विश्वास समेत व्यक्त गरिएको छ।