काठमाडाैँ । संसदीय समितिले पनि काठमाडौं उपत्यका भित्रको सुकुम्बासी बस्तीको अवलोकन गर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा संसदीय समितिको बैठकले सरकारले हालै हटाएको सुकम्बासी बस्तीका नागरिकहरुको पीडाको सुनुवाई गर्न एक हप्ताभित्र काठमाडौँ उपत्यका भित्रको सो ठाउँमा अनुगमनमा जाने निर्णय गरेको हो ।
काठमाडौँ उपत्यका भित्रका सुकुम्बासी बस्तीको अवस्थाबारे अध्ययन गर्न यही हप्ता भित्र अनुगमनमा जाने निर्णय गरिएको समितिका सभापति समिक्षा बास्कोटाले जानकारी दिइन् । त्यस अवसरमा उनले संसदको बैठकलाई प्रभावकारी बनाउनेगरी सहकार्य गरेर अघि बढन पनि समितिका सदस्यहरुलाई आग्रह गरिन् ।
सभापति बास्कोटाले भनिन्, “हामीले उपसमिति गठन गर्ने कुरामा कन्जुस्याँई गर्ने भन्ने छैन । तर हाम्रो नियमावली पास भइसकेको अवस्था छैन । त्यो अवस्थामा हामी अहिले नै हतारिएर गर्नुं भन्दा केही पर्खेर समितिलाई प्रभावकारी ढंगले काम गराऔ भन्ने मात्र ध्येय छ । त्यसमा माननीय सदस्यज्यूहरु सबैले सहयोग गरिदिनु हुन्छ, सिकाउनु हुन्छ । सहकार्य गर्नु हुन्छ भन्नेमा म एकदमै आशावादी पनि छु । सुकम्बासी बस्तीको विषयमा हामी अवस्था के छ भनेर अध्ययन तथा अनुगमन गर्न सकिन्छ जस्तो लाग्छ । त्यो काम यही हप्ता भित्र काठमाडौं उपत्यका भित्रको सुकुम्बासी बस्तीको अध्ययन तथा अनुगमन गर्न हामी जानसक्छौँ । बाहिर जाने कुरा चाहीँ बजेटको कुरा पनि छ । त्यो अहिले सम्भव छैन ।”
बैठकमा सभापति बास्कोटाले समितिलाई प्रभावकारी बनाउनका लागि आवश्यकताअनुसार उपसमिति बनाएर अघि बढने समेत बताइन् ।



प्रतिक्रिया दिनुहोस्