काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औद्योगिक सम्पतीको संरक्षण गर्न सरकार सजग रहेको बताएकी छिन् ।
मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रसँग सम्बन्धमा आवश्यक नीति तथा कार्यक्रमहरुको तर्जुमा गरी निजी क्षेत्र तथा दात्रृ निकायहरुसँगको समन्वयमा त्यसलाई कार्यान्वयनमा लैजाने कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।
उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रवद्र्धन गर्न पनि सरकारले सक्दो पहल गरिरहेको बताइन् । औद्योगिक पूर्वाधारको व्यवस्था गर्न पनि सरकार क्रियाशील रहेको मन्त्री यादवको भनाई थियो ।
उनले भनिन्, “आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रवद्र्धन, सहजीकरण तथा नियमन, औद्योगिक पूर्वाधारको व्यवस्था र औद्योगिक सम्पत्तिको संरक्षण गर्ने काममा सरकार सजग रहँदै आएको छ । यसको उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रसँग सम्बन्धमा आवश्यक नीति तथा कार्यक्रमहरुको तर्जुमा गरिनेछ । तर्जुमा गरिएका नीति तथा कार्यक्रमलाई विभिन्न मन्त्रालय, नेपाल सरकार तथा अन्य निकायहरु निजी क्षेत्र तथा दात्रृ निकायहरुसँग समन्वय गरी कार्यान्वयन गरिनेछ । सञ्चालित कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गरी त्यसलाई अघि बढाउने कार्य गरिनेछ ।”
मन्त्री यादवले सरकारले हाल सञ्चालित कार्यक्रमहरुको अनुगमनको कामलाई पनि तिब्रता दिएको बताइन् ।



प्रतिक्रिया दिनुहोस्