काठमाडौँ । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रमेश अर्याललाई निमित्त महानिर्देशको जिम्मेवारी दिइएको छ ।
विभाग वैशाख १४ गतेदेखि महानिर्देशकविहीन छ । अर्थ मन्त्रालयका अनुसार हाललाई उपनिर्देशक अर्याललाई नै निमित्तको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सरकारले आर्थिक वर्ष २०८३/८४ बजेटको तयारी गरिरहँदा आन्तरिक राजस्वको मुख्य निकाय आन्तरिक राजस्व विभाग अझै निमित्तको भरमा रहने भएको छ ।
वैशाख १४ गते तत्कालीन महानिर्देशक मदन दाहाल विदाइ भएपछि सरकारले आज निमित्त महानिर्देशकको जिम्मेवारी अर्याललाई दिएको हो ।
बजेट निर्माणका बेला विभागलाई धेरै नेतृत्वविहीन नराख्न अर्थका अधिकारीहरूले सुझाव दिएका थिए ।
महानिर्देशकका लागि सहसचिव भीष्मकुमार भूसाल र बाबुराम गौतमबारे छलफल चलेको थियो ।
दुबै जनालाई अर्थ मन्त्रालय भित्राएर एकजनालाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाउने छलफल भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका भूसाल शासकीय सुधार महाशाखा प्रमुख छन् र नीति निर्माण तथा कानुनी रूपमा प्रधानमन्त्री वालेन्द्र शाहको टिमलाई नजिकबाट सघाईरहेका छन् ।
प्रधानमन्त्री कार्यालयले भुसाललाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा पठाउन खोजेकाे थियाे ।
अर्थ मन्त्रालयले गौतमलाई महानिर्देशक बनाएर पठाउन चाहेको थियाे । गौतम बागमती प्रदेश सचिव छन् । दुबैजनाबारे छलफल चलिरहेका बेला विभागकै उपमहानिर्देशक अर्याललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
स्राेतका अनुसार भुसालले अन्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखामा चासो देखाएका थिए भने गौतमको नाममा सकारात्मक धारणा बन्न नसकेपछि अर्याललाई निमित्तको जिम्मेवारी दिइएको हो ।
अहिले बजेट निर्माणका क्रममा खर्च र राजस्व सङ्कलनको पाटोमा प्रधानमन्त्री कार्यालयले समेत प्रत्यक्ष चासो देखाइरहेको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री वालेन शाह नजिकका एक ‘सल्लाहकार’ले बजेटबारे ‘ब्रिफिङ’ लिइरहेका छन् । यस्ताे अवस्थामा विभाग केही समय निमत्तकाे भरमा चल्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्