काठमाडौँ । सरकारले प्रशोधित पिउने पानीको उत्पादन, ढुवानी तथा बिक्री वितरणमा संलग्न सबै सरोकारवालालाई स्वच्छता र गुणस्तरमा कडाइ अपनाउन निर्देशन दिएको छ।
गर्मी तथा वर्षायाममा झाडापखाला लगायत विभिन्न रोगका हानिकारक सूक्ष्म जीवहरूको संक्रमण बढ्ने भएकाले दूषित पानीको प्रयोगबाट जनस्वास्थ्यमा जोखिम बढ्न सक्ने भन्दै सरकार सचेत बनेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको सूचनामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१, खाद्य नियमावली, २०२७ तथा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ अनुसार मात्र पानी उत्पादन तथा बिक्री वितरण गर्न आग्रह गरिएको छ।
विभागका अनुसार बजारमा पुराना, कुच्चिएका, टालिएका, चुहिएका तथा अपारदर्शी जारमा प्रशोधित पिउने पानी बिक्री भइरहेको गुनासो प्राप्त भएको छ।
यस्तो कार्यले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै त्यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित उत्पादक, ढुवानीकर्ता तथा विक्रेतालाई निर्देशन दिइएको छ।
सूचनामा उल्लेख गरिए अनुसार यस निर्देशनको अवज्ञा गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कारबाही गरिनेछ।
सरकारले उपभोक्तालाई समेत सुरक्षित र गुणस्तरीय पानी मात्र प्रयोग गर्न सचेत रहन आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्