लिबियाका बैंकहरूद्वारा १३ वर्षपछि पहिलोपटक नागरिकलाई नगद डलर वितरण शुरु


लिबियाका वाणिज्य बैंकहरूले नागरिकहरूलाई वैदेशिक मुद्राको कोटा नगदमा वितरण गर्न शुरु गरेका छन् । विगत १३ वर्षमा पहिलोपटक लिबियाली नागरिकले बैंकबाट प्रत्यक्ष नगदै अमेरिकी डलर प्राप्त गर्न थालेका हुन् ।

नयाँ व्यवस्थाअनुसार नागरिकहरूले आफ्नो वार्षिक वैदेशिक मुद्रा विनियोजन अन्तर्गत २ हजार अमेरिकी डलरसम्म नगद बुझ्न पाउनेछन् । लिबियाको केन्द्रिय बैंकले वैदेशिक मुद्राको पहुँचलाई व्यवस्थित बनाउन र आधिकारिक बैंकिङ प्रणालीमार्फत यसको उपलब्धता बढाउन यो नयाँ रणनीति अवलम्वन गरेको हो ।

यसलाई देशको वैदेशिक मुद्रा व्यवस्थापन नीतिमा भएको एक महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ । यसअघि वैदेशिक मुद्रा वितरणका लागि बैंक ट्रान्सफर वा इलेक्ट्रोनिक कार्डमा मात्र भर पर्नुपर्ने अवस्था रहेकोमा, नयाँ ‘व्यक्तिगत प्रयोजन’ कार्यक्रम अन्तर्गत अब बैंकका काउन्टरहरूबाटै सीधै नगद भुक्तानी लिन सकिने व्यवस्था गरिएको छ ।

केन्द्रिय बैंकले वाणिज्य बैंकहरूलाई आवश्यक वैदेशिक मुद्रा उपलब्ध गराउने जानकारी दिँदै ती बैंकहरूले वित्तीय तथा बैंकिङ सुरक्षा मापदण्ड अनुरूप ढुवानी र सुरक्षाको पूर्ण जिम्मेवारी वहन गर्नुपर्ने स्पष्ट पारेको छ ।