नीभ कर्पोरेशनले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल


काठमाडौँ। नीभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता सेयर सार्वजनिक निष्काशन गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

यस सम्बन्धमा २०८३ वैशाख २३ गते द्विपक्षीय सम्झौता भएको छ। सम्झौता पत्रमा नीभ कर्पोरेशनका अध्यक्ष यज्ञमुर्ति न्यौपाने र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका छन्।

नेपालको कृषि तथा पर्यटन क्षेत्रमा आधुनिक, दिगो तथा स्थानीय पहिचानमा आधारित व्यवसाय सञ्चालन गर्ने उद्देश्यसहित वि.सं. २०७६ सालमा स्थापना भएको यस कम्पनीको केन्द्रीय कार्यालय तुलसीपुर, दाङमा रहेको छ भने सम्पर्क कार्यालय सोल्टीमोड, काठमाडौँमा रहेको छ ।

कम्पनीले हाल दाङ, नेपालगञ्ज तथा सुर्खेत आदि क्षेत्रमा स्थानीय संस्कृति, स्वाद, भेषभूषा तथा परिवेशलाई समेटेर होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको छ ।

कम्पनीले आतिथ्यता, कृषि र पर्यटनलाई समेट्ने एकीकृत अवधारणा सहित पूर्वको इलाम देखि कर्णालीसम्म र सुदुरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रहरु सहित गरी देशका २० भन्दा बढी स्थानमा आफ्नो व्यवसाय विस्तार गर्ने लक्ष्य अघि सारेको छ ।

यस कम्पनीमा कृषि विज्ञ, पर्यटन विज्ञ ख्याति प्राप्त व्यवसायी, युवा उद्यमी, चार्टर्ड एकाउन्टेण्ट तथा अन्य विभिन्न पेशामा संलग्न प्रतिष्ठित व्यक्तिहरू रहेका छन्।