इप्पानको नयाँ नेतृत्वका लागि दुई समूहको तयारी : अध्यक्ष र वरिष्ठ उपाध्यक्ष कसैको पक्षमा नखुल्ने सहमति


काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादनकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ ।

अहिलेसम्म सबैको उम्मेदवारी घोषणा नभए भित्राभित्रै धरैजसोको उम्मेदवारी टुङ्गो लागेको छ ।

अहिलेसम्मको वातावरण हेर्दा इप्पानमा सर्वसम्मति हुने सम्भावना कम देखिएको छ । निर्वाचनका लागि दुइसमूह बनाएर अगाडि जाने तयारी भइरहेको छ । दुबै समूहको एकदुइदिनमै उम्मेदवार टुङ्गो लाग्ने देखिएको छ ।

अध्यक्ष र वरिष्ठ उपाध्यक्ष कसैको पक्षमा नखुल्ने सहमति

इप्पानको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी अब अध्यक्ष हुनेछन् ।

विधानअनुसार अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष पनि आगामी कार्यकालपछि स्वत : अध्यक्ष हुने छन् । त्यसपछि भने वरिष्ठ उपाध्यक्ष स्वत : अध्यक्ष हुने प्रावधान हटाइएको छ ।

यो बिचमा विवाद गरेर अहिले ने वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुन नपाईने भन्ने आवाज उठे पनि समाधान भएको छ ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले अन्योलता हटाउँदै वरिष्ठ उपाध्यक्ष स्वत : अध्यक्ष हुने वैधानिक व्यवस्थाबारे तलमाथि नहुने स्पष्ट पारेको हो ।

इप्पानमा चुनाव हुने देखिएपछि वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष कसैको पक्षमा नखुल्ने सहमति भएको छ ।

केन्द्रीय समितिमा वर्तमान अध्यक्ष र भावी अध्यक्षले कसैको पक्षमा नलाग्ने सहमति भएको हो ।

स्रोतले भन्यो,“यसपटक इप्पानमा चुनाव हुने देखिन्छ । यस्तो अवस्थामा वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष कुनै समूहमा नखुल्ने सहमति भएको छ ।”

आगामी जेठ २९ गते हुने साधारणसभाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलालले औपचारिक रूपमा उमेदवारी घोषणा गरिसकेका छन् ।

उपाध्यक्ष उत्तम भ्लोन लामा र भरतबहादुर खत्री, महासचिव बलराम खतिवडा तथा सचिव हिमप्रसाद पाठकसमेत वरिष्ठ उपाध्यक्षका आन्तरिक तयारी गरिरहेका छन् ।

आन्तरिक छलफल चलिरहेका बेला कोषाध्यक्ष नरेन्द्र वल्लभ पन्त एउटा समूहबाट दोहोरिने देखिएकाे छ । कार्यसमिति सदस्य सुमन जोशीले सचिवमा दाबी गरेका छन् भने टेकनाथ आचार्य र मिथुन पौडेलले महासचिवमा दाबी गरेका छन् ।

वर्तमान सचिव विक्रम विष्ट र कविता पोखरेल कँडेल उपाध्यक्ष पदका लागि छलफल चलाईरहेका छन् ।

शङ्कर वस्याल उपमहासचिव पदका आकाङ्क्षी देखिएका छन् ।