काठमाडौँ । डा स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार केही सीमित समूहको प्रभावमा परेको आरोप लगाउँदै बजार हेरफेर, इन्साइडर ट्रेडिङ र जनताको अर्बौं रुपैयाँ दुरुपयोगमार्फत आर्थिक तथा राजनीतिक संस्थामाथि समेत नियन्त्रण जमाउने प्रयास भएको बताएका छन्।
मंगलबार बसेको अर्थ समिति बैठकमा बोल्दै उनले विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित व्यक्तिहरूको कब्जामा पुगेको कटु यथार्थ स्वीकार गर्नुपर्ने अवस्था आएको उल्लेख गरे। उनका अनुसार करिब १५ देखि १६ अर्ब रुपैयाँ बराबरको जनताको पैसा दुरुपयोग गरेर केही समूहले अकुत सम्पत्ति आर्जन गरेका छन्।
अर्थमन्त्री वाग्लेले पुँजी बजारमा कृत्रिम प्रभाव सिर्जना गरेर राजनीतिक नेतृत्वलाई समेत प्रभावित पार्ने प्रयास भएको टिप्पणी गर्दै आर्थिक संस्थाहरूको विश्वसनीयता पुनःस्थापना गर्न सरकारले सुधारको मार्ग समातेको बताए।
उनले नेपाल स्टक एक्सचेन्ज पुनःसंरचनाका लागि गठित समितिको प्रतिवेदन कार्यान्वयन गरिने जानकारी दिँदै सरकारले पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र विश्वस्तरीय मापदण्डअनुसार विकास गर्ने लक्ष्य लिएको स्पष्ट पार्नुभयो। राष्ट्रपतिमार्फत सार्वजनिक नीति तथा कार्यक्रममा घोषणा गरिएका उदार पुँजी बजारसम्बन्धी व्यवस्थालाई आगामी बजेटमार्फत थप प्रभावकारी बनाइने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले तथाकथित ‘जेन–जी आन्दोलन’ लाई परिवर्तनको महत्वपूर्ण मोडका रूपमा चित्रण गर्दै त्यसले मुलुकलाई गलत दिशामा जानबाट रोकेको दाबी गरे। अहिले सरकार सुशासनलाई पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै “पहिलो वर्ष सुशासनको जग बसाल्ने र त्यसपछि विकास निर्माण स्वतः अघि बढ्ने” धारणा सार्वजनिक गरे।



प्रतिक्रिया दिनुहोस्