राष्ट्रपति बोलिरहँदा प्रधानमन्त्री बाहिरिएको विषयमा कांग्रेसको आपत्ति, संसदमा जवाफ माग


काठमाडाैँ । नेपाली काँग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र साह संसद बैठकबाट बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले उक्त घटनालाई संवैधानिक संस्कार र संसदीय परम्पराविपरीत भएको टिप्पणी गर्नुभयो। उहाँले राष्ट्रपति जस्तो गरिमामय पदको समेत अपमान हुनेगरी प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिएको भन्दै यसबारे तत्काल संसदमा स्पष्ट जवाफ दिन माग गर्नुभयो।

प्रमुख सचेतक थापाले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रधानमन्त्रीलाई सचेत गराउँदै संवैधानिक पदको सम्मान र संसदीय मर्यादा कायम राख्नुपर्नेमा जोड दिनुभयो।

उहाँले लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुने उल्लेख गर्दै सरकारलाई संसदीय परम्परा कमजोर नबनाउन आग्रह गर्नुभयो।