काठमाडाैँ । नेकपा (एमाले) का सांसद अर्जुनकुमार कार्कीले वैदेशिक सहायता परिचालनको मुख्य जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिनुपर्ने प्रश्ताव गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त सदनमा प्रश्तुत गरेका सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संशोधन पेश गर्दै सांसद कार्कीले यस्तो माग राखेका हुन् ।
सांसद कार्कीले मुलुकको परराष्ट्र नीतिमा आर्थिक कुटनीतिलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिँदै हाल अर्थ मन्त्रालय मातहत रहेको वैदेशिक सहायता परिचालनको कार्य परराष्ट्र मन्त्रालय र यस अन्तर्गतका कुटनीतिक नियोगहरू मार्फत हुनुपर्ने जिकिर गरे ।
नेपाल अति कम विकसित राष्ट्रहरूको समूहको अध्यक्षता गरिरहेको मुलुक भएको स्मरण गराउँदै कार्कीले वैदेशिक सहायताको सही परिचालनबाट मात्रै गरिबी निवारण र विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सकिने बताए । आर्थिक कुटनीतिलाई सबल र परिणाममुखी बनाउन संरचनात्मक सुधार आवश्यक रहेको उनको तर्क छ ।
उनले भने, “हाम्रा ३३ मुलुकमा रहेका ४४ वटा नियोग र त्यहाँ कार्यरत विशेषज्ञ जनशक्तिलाई आर्थिक कुटनीतिमा प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक छ । वैदेशिक सहायता जुटाउने प्रमुख जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिइनु पर्दछ । अर्थ मन्त्रालयले भने प्राप्त सहायतालाई कुन क्षेत्र र विकास आयोजनामा खर्च गर्ने भन्ने विषयमा मात्र ध्यान केन्द्रित गर्नुपर्छ ।”
सांसद कार्कीले बुँदा नम्बर ९० मा संशोधन प्रश्ताव गर्दै नेपाली डायस्पोरा र गैरआवासीय नेपालीहरूको लगानी आकर्षित गर्न ‘एनआरएन इन्भेस्टमेन्ट फण्ड’ को प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
विदेशमा रहेका नेपालीहरूको पुँजीलाई नेपालको विकासमा परिचालन गर्न उनीहरूलाई दोहोरो कर प्रणालीबाट मुक्त गराउनुपर्ने र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
कुटनीतिक क्षेत्रको अनुभव समेत सँगाल्नुभएका सांसद कार्कीले राष्ट्रिय सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राख्दै अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न विशेष पहलकदमी लिन सरकारलाई सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्