काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान)को चुनाव नजिकिदै गर्दा विवाद पनि सुरु भएको छ ।
एउटा समूहले उम्मेदवारी घोषणा गरेको छ भने अर्को समूह चुनाव रोक्न माग गर्दै प्रशासनिक निकायहुँदै अदालतसम्म पुग्ने तयारी गरेको छ ।
२०८३ जेठ २९ गते हुने इप्पानको चुनावको तयारी भइरहँदा उत्तम भ्लोनको टिम घोषणा भएको छ । वर्तमान उपाध्यक्ष भ्लोनको समूहले काठमाडौँमा कार्यक्रम गरेर बुधबार प्यानल घोषणा गरेको हो ।

वर्तमान उपमहासचिव प्रकाश दुलालले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । दुलाल पक्षले भने सामूहिक उम्मेदवारी घोषणा गरेको छैन ।
विवाद
दुलाल पक्ष वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था अहिलेदेखि नै खारेजी हुनुपर्ने माग गर्दै प्रशासनिक निकायदेखि अदालतसम्म जाने तयारी गरेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार दुलालले भने,“पहिले निर्वाचन रोक्नका लागि निवेदन पेश गर्छौँ भएन भने अदालतसम्म पुग्छौँ । यसको अगुवाई म आफै गर्छु ।”
यसअघिको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वत : अध्यक्ष हुनेछन् र अबको चुनावबाट निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष पनि अर्को कार्यकालका लागि अध्यक्ष हुनेछन् । त्यसैले पुरानै विधानअनुसार वरिष्ठ उपाध्यक्षमा भ्लोनसहितको उम्मेदवारी घोषणा भएको छ ।
भ्लोन समूहमा उपाध्यक्षको उम्मेदवारमा उत्तरकुमार श्रेष्ठ, हिमप्रसाद पाठक,सुसन कर्माचार्य र बिक्रम विष्ट छन् ।
यस्तै महासचिवमा टिएन आचार्य र उपमहासचिवको उम्मेदवारमा कविता कँडेल छन् । वर्तमान कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तले दोहोराएर उम्मेदवारी घोषणा गरेका छन् भने सचिवमा विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, समुन जोशी, शंकर बस्याल, अविज्ञा मल्ल रहेका छन् । सदस्यमा अनुप आचार्य,जगतबहादुर पोखरेल,कदम केसी बर्णन लामिछाने,इशा श्रेष्ठ र प्रतिमा ज्ञवालीले उम्मेदवारी घोषणा गरेका छन् ।
असन्तुष्ट पक्ष अदालतसम्म पुग्ने तयारी
वरिष्ठ उपाध्यक्षमा प्रकाश दुलालले उम्मेदवारी घोषणा गरे पनि टिम सार्वजनिक भइसकेको छैन । कुन विधान अनुसार निर्वाचन गर्ने भन्ने सूचना नआएकाले प्यानल घोषणा गर्नुको कुनै अर्थ नभएको दुलालको तर्क छ ।
वर्तमान उपमहासचिवसमेत रहेको दुलालले भने,“अहिलेसम्म कुन विधानअनुसार निर्वाचन गर्ने भन्ने सूचना नआएकाले अहिले नै उम्मेदवारी घोषणाको कुनै अर्थ छैन ।”
संसोधित विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी पनि स्वत : अध्यक्ष हुन नपाउने तर्क दुलाल पक्षको छ । यसैपालादेखि नै अध्यक्ष पदमा पनि निर्वाचन हुनुपर्ने दुलाल पक्षको माग छ ।
विवाद के हो ?
इप्पानको २१ औँ साधारण सभाले सल्लाहकार भानु पोखरेलको नेतृत्वमा विधान संसोधन तथा पुनर्लेखन गर्न विधान संसोधन तथा पुनर्लेखन मस्यौदा समिति गठन गरेको थियो ।
समितिले बुझाएको विधान संसोधन मस्यौदा प्रतिवेदनलाई २३ र्औँ वार्षिक साधारण सभाले ग्रहण गरेको थियो ।
एउटा पक्षले प्रस्तावित विधानको व्यवस्था यो चुनावपछि मात्रै लागू हुने भनेको छ भने असन्तुष्ट पक्षले यसै चुनावबाट लागू हुनुपर्ने माग गरेको छ । भ्लोन समूहले पुरानै विधानअनुसार निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको हो । प्रकाश दुलाल पक्षले भने संसोधित नयाँ विधानअनुसार चुनाव हुनुपर्ने माग गरेको छ ।
इप्पानको विधान अहिले औपचारिक संसोधन भइसकेको छैन । दुलाल समूहले भने विधानको मस्यौदा लुकाइएको आरोप लागेको छ । विधान औपचारिक रूपमा संसोधन नभएकाले भ्लोन समूहले तयारी सुरु गरिसकेको छ ।
दुलाल समूह भने चुनाव रोक्न अदालतसम्म पुग्ने तयारीमा छ ।



प्रतिक्रिया दिनुहोस्