एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग ४ अर्ब ५० कराेड रूपैयाँ फिर्ता माग्याे


काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल आजियटा लिमिटेडले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग स्मार्ट टेलिकम प्रालिकाे दूरसञ्चार उपकरण खरिदका लागि दिएको ४ अर्ब ५० करोड रुपैयाँ फिर्ता गर्न आग्रह गर्दै पत्र पठाएको छ ।

स्मार्ट टेलिकमको सम्पत्ति खरिदको विषय विवादमा तानिएपछि एनसेलले बैंकसँग रकम फिर्ता मागेको हो ।

आफूले खरिद गरेको स्मार्ट टेलिकमको उपकरणहरूमा स्वामित्व ग्रहण गर्न र यस कम्पनीको नेटवर्कमा समावेश गरी सेवा सञ्चालन गर्न एनसेलसँग नेपाल दूरसञ्चार प्राधिकरणसँग स्वीकृति माग गरेको थियो ।

तर, लिलामको तथ्य सम्पत्ति हस्तान्तरण गर्ने कार्य कानुन सम्मत नभएको भन्ने पत्र प्राधिकरणबाट एनसेलले २०८२ चैत ७ गते पत्र प्राप्त गरेको थियो । लगत्तै ऐनसेलले २०८३ वैशाख २ गते नेपाल इन्भेस्टमेन्ट मेघा बैंकलाई पत्रमार्फत जानकारी गराएको थियो ।

एनसेलको पठाएको पत्रमा भनिएको छ,“उपर्युक्त सम्बन्धमा तपाईँ बैंक र पूर्वप्राइम कमर्सियल बैंक लिमिटेड समेतको सहवित्तीयकरण कर्जाअन्तर्गत धितो सुरक्षणमा रहेको स्मार्ट टेलिकम प्रालिअन्तर्गत ललितपुरसँग सम्बन्धित विभिन्न दूरसञ्चार उपकरणहरू लगायतका सामग्रीहरू लिलाम बिक्री गर्नेसम्बन्धी मिति २०८२।०६।०३ गते हिमालयन टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित १५ दिने सार्वजनिक सूचना बमोजिम यस कम्पनीले सूचनाको समय भित्र लिलाम सकार गरेको लागि ४ अर्ब ५० करोड बराबरको बोलपत्र पेस गरेकोमा तद् बैंकको मिति २०८२।०६।१० गतेको पत्रबाट यस कम्पनीले उक्त बोलपत्र बमोजिम सकार गरेको जानकारी प्राप्त भएको एवं यस कम्पनीका नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट उक्त उपकरणहरूमा स्वामित्व ग्रहण गर्न र यस कम्पनीको नेटवर्कमा समावेश गरी सेवा सञ्चालन गर्न स्वीकृति माग गरेकोमा मिति २०८२।१२।०७ मा लिलामको तथ्य सम्पत्ति हस्तान्तरण गर्ने कार्य कानुन सम्मत नभएको भन्ने पत्र प्राप्त भएको ब्यहोरा मिति २०८३।०१।०२ को पत्र मार्फत तपाईँलाई अवगत गराइएको थियो ।”

नियमनकारी निकायले पठाएको पत्रमा उल्लेख भएको विषयले लिलाम बिक्रीको काम कारबाहीमा कानुनी प्रश्न खडा भएको र लिलाममार्फत सकार गरिएका उक्त दूरसञ्चार उपकरणहरूमा कानुनबमोजिम स्वामित्व ग्रहण गर्न नसक्ने अवस्था रहेको जानकारी एनसेलले बैंकलाई लेखेको पत्रमा छ ।

ऐनसेलका सिइओ माइकल फोलेले २०८३ वैशाख २९ गते एनआईएमबि बैंकलाई खाता नम्बरसहित उपलब्ध गराएर लेखेको पत्रमा थप भनिएको छ,“तसर्थ, लिलाम मार्फत सकार गरिएका उपकरणहरूमा कानुन बमोजिम यस कम्पनीको नाममा यथाशीघ्र स्वामित्व हस्तान्तरण गरिदिन हुन अनुरोध छ ।”

पत्रमा थप भनिएको छ,“कानुनबमोजिम स्वामित्व हस्तान्तरण हुन नसक्ने अवस्थामा उक्त उपकरणहरू लिलाम सकार गर्ने क्रममा तहाँ बैंकलाई भुक्तानी गरेको ४ अर्ब ५० करोड रुपैयाँ यस कम्पनीको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेको निम्न लिखित खातामा फिर्ता भुक्तानी गरी सोको लिखित जानकारी दिन हुन अनुरोध छ ।”

सरकारी सम्पत्ति झुक्काएर बिक्री गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले स्मार्ट टेलिकमका तत्काली प्रबन्ध निर्देशक,एनआइएमबी बैंकका सिइओ ज्यातिप्रकाश पाण्डेलगायतलाई पक्राउ गरेको छ । बैंकले भने ऋण उठाउन स्मार्ट टेलिकमको सम्पत्ति बिक्री गरेको दाबी गरेकाे छ ।

सञ्चालन अनुमति तथा नवीकरणबापतको बक्यौता नतिरेपछि दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमलाई दूरसञ्चार प्राधिकरणले २०८० वैशाख ३ बाट सरकारी स्वामित्वमा ल्याएको थियो ।

सरकारको नाममा आएको स्मार्ट टेलिकमको सम्पत्ति ऋण उठाउन भन्दै एनआइएमबी बैंकले ऐनसेललाई बेचेको थियो । सञ्चालकहरुसँगको मिलेमतोमा बिक्री गरिएको भन्दै अहिले अनुसन्धान चलिरहेको छ । अनुसन्धान चलिरहेका बेला एनसेलले फैसा फिर्ता माग गरेको हो ।