‘पोखराको रात्रिकालीन व्यवसायमा बेथितिः २४ घण्टा खुला राख्ने नीति परिमार्जन गर्न व्यवसायीको माग’


काठमाडाैँ । पर्यटकीय राजधानी पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा बढेको भन्दै पर्यटनसँग संवद्ध संघसंस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 

चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्ने खुकुलो नीतिका कारण पर्यटकीय बजार मर्यादित बन्नुको साटो सामाजिक विकृति मौलाएको भन्दै पर्यटन व्यवसायीहरूले राति २ बजेपछि व्यवसाय बन्द गर्न र अनुगमनमा कडाइ गर्न माग गरेका हुन् ।

पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन क्षेत्रसँग आवद्ध १५ वटा संस्थाहरूले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरे ।

सरकारले २०८० चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेकसाइड क्षेत्रलाई चौबिसै घण्टा खुला राख्ने निर्णय गरेको थियो । तर उक्त निर्णयपश्चात मापदण्ड पालना नहुँदा र फितलो अनुगमनका कारण शान्ति सुरक्षामा समेत गम्भीर असर परेको व्यवसायीहरूको ठहर छ । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीकाअनुसार रात्रिकालीन व्यवसाय सञ्चालनका लागि तय गरिएका आचारसंहिता र मापदण्ड व्यवसायीहरूले पूर्ण रूपमा पालना गरेका छैनन् । डान्स बार, दोहोरी साँझ र क्लवहरूले सामाजिक उत्तरदायित्व र ग्राहकको सुरक्षालाई बेवास्ता गर्दा स्थानीय नागरिक समाजमा समेत असन्तुष्टि बढेको छ । 

“२४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्णयले पर्यटन प्रवद्र्धन गर्नुको सट्टा ध्वनि प्रदूषण र उश्रृङ्खलता बढाएको छ,” ज्ञापनपत्रमा उल्लेख छ, “त्यसैले जुनसुकै रात्रिकालीन व्यवसाय पनि राति २ बजेपछि अनिवार्य बन्द हुनुपर्छ ।”

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै पोखरा शहर २४ सै घण्टा खुला राख्ने सरकारको निर्णयप्रति होटल संघ पोखराले असन्तुष्टि व्यक्त गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्याप्त छलफल र पूर्व तयारी बिना नै ल्याइएको यो अवधारणा प्रभावकारी नभएको टिप्पणी गरे।

अध्यक्ष सुवेदीकाअनुसार पोखरा आउने आन्तरिक तथा वाह्य पर्यटकहरूले समयमै खानपान गर्ने अभ्यास रहेकाले मध्यरातमा बजार खुला राख्नुको औचित्य देखिएको छैन । व्यवसायीहरूकाअनुसार २४ सै घण्टा बजार खुला रहँदा पर्यटकीय गतिविधि बढ्नुको साटो स्थानीय युवापुस्तामा नकारात्मक असर परिरहेको छ ।

डिस्को, क्लव र दोहोरी साँझ जस्ता रात्रिकालीन व्यवसायहरूले युवाहरूलाई गलत बाटोतर्फ डोहो¥याएको तर त्यसबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेको संघको ठहर छ ।

पोखरालाई पर्यटकीय राजधानीको ‘उपहार’ स्वरूप २४ सै घण्टा खुला गर्ने निर्णय हतारमा गरिएको बताउँदै अध्यक्ष सुवेदीले यसका लागि हुनुपर्ने न्युनतम बहस र तयारी नगरिएको गुनासो गरे ।  केही पर्यटन व्यवसायीहरूलाई मात्र सहभागी गराएर हस्ताक्षर गराउँदैमा यस्तो संवेदनशील निर्णय कार्यान्वयन गर्न कठिन हुने उनको तर्क छ ।

यसअघि, सरकारले पोखराको लेकसाइड क्षेत्र लगायतका निश्चित पर्यटकीय केन्द्रहरूलाई चौबिसै घण्टा खुला गर्ने घोषणा गरेको थियो । तर सुरक्षा, आवश्यकता र सामाजिक प्रभावका विषयमा गहन अध्ययन नगरी ल्याइएको यो नीतिले समस्या निम्त्याउन सक्ने भन्दै सरोकारवालाहरूले प्रश्न उठाउन थालेका छन् । 

सुवेदीले भने, “पोखरा आउने पर्यटकहरू बीचमै खाना खाएर आउनुहुन्छ, राति २ बजे खाना खान उहाँहरूलाई आवश्यक छैन ।”

पोखरा महानगरपालिका वडा नम्बर ६ का स्थानीय बासिन्दाले रात्रिकालीन व्यवसायका कारण उत्पन्न सामाजिक समस्या र बेथितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । विशेषगरी पर्यटकीय क्षेत्रमा सञ्चालित क्लव तथा डान्स बारहरूका कारण स्थानीयको जनजीवन प्रभावित भएको उनीहरूको भनाइ छ ।

महिला सञ्जाल पोखरा–६ की अध्यक्ष बविता मल्लले रात्रिकालीन समयमा सञ्चालन हुने डान्स बार र क्लबका कारण स्थानीयले सास्ती खेप्नुपरेको बताइन् । मल्लकाअनुसार रातभर डान्स बारमा व्यस्त रहने ग्राहक तथा कामदारहरू बिहान सबेरैसम्म पनि मदिराले लठ्ठ अवस्थामा भेटिने गरेका छन् ।

रात्रिकालीन व्यवसायमा संलग्न व्यक्तिहरू र त्यहाँ जाने ग्राहकहरूको अमर्यादित व्यवहारले टोल छिमेकमा नकारात्मक असर पुगेको भन्दै स्थानीयले यसको उचित व्यवस्थापन र नियमनका लागि ध्यानाकर्षण गराएका छन् । रातभर सञ्चालन हुने यस्ता गतिविधिले एकातिर ध्वनि प्रदुषण बढाएको छ भने अर्कोतिर बिहानको समयमा हिँडडुल गर्ने सर्वसाधारणले असुरक्षित र असहज महसुस गर्ने गरेका छन् । 

उनले भने, “हामी बिहान ४ देखि ६ बजेको समयमा मर्निङ वाक जाँदा स्थानीयका घरका पिँढीमा मदिराले लठ्ठ भएका व्यक्तिहरू हेर्नै नसकिने र लज्जास्पद अवस्थामा भेटिन्छन् ।स्थानीय बासिन्दाका लागि यो अत्यन्तै पीडादायी र लाजमर्दो विषय बनेको छ ।”

पर्यटकीय राजधानी पोखराको गरिमा बचाउन र पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन रात्रिकालीन व्यवसायको उचित व्यवस्थापन अनिवार्य देखिएको छ । व्यवसायीको लापरवाही र नियमनकारी निकायको मौनताले गर्दा पर्यटन क्षेत्र थप जटिल मोडमा पुग्ने जोखिम बढेको भन्दै सरोकारवालाहरूले तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भने होटल तथा पर्यटन क्षेत्रको प्रभावकारी नियमन र व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी ठोस निर्णय लिइने बताइन् । होटल तथा पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी शर्माले व्यवसाय सञ्चालनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेका मापदण्डहरूको पूर्ण कार्यान्वयनमा जोड दिइन् ।

उनले व्यवसायलाई मर्यादित बनाउन व्यवसायीहरू आफैँले पनि आन्तरिक नियमन गर्नुपर्ने र तोकिएका मापदण्ड पालना भए÷नभएको विषयमा प्रशासनले नियमित अनुगमन गर्ने स्पष्ट पारिन् । अनुगमन र नियमनको प्रक्रियालाई थप सुदृढ बनाउन व्यवसायीहरूको सहयोग अपरिहार्य रहेको उल्लेख गरिन् । 

उनले भनिन्, “मापदण्ड कार्यान्वयनको अवस्थाबारे हामीलाई निरन्तर सूचना र सुझाव उपलब्ध गराएर सहयोग गरिदिनुस् । कतै त्रुटी वा कमजोरी देखिएमा प्रशासनलाई झक्झकाउने काम व्यवसायीहरूबाट हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।”

प्रजिअ शर्माले पर्यटन क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधान गर्न पोखरा महानगरपालिका लगायत अन्य सरोकारवाला निकायहरूसँग पुनः वृहत छलफल गरिने जानकारी दिइन् । व्यवसायीहरूका समस्याप्रति प्रशासन गम्भीर रहेको र सबै पक्षको सहभागितामा छिट्टै एउटा निकास निकालिने उनको भनाइ छ ।