फ्रेन्चाइज लिगले खेलकुद विकासमा महत्वपूर्ण भुमिका निभाउँछः मन्त्री पोखरेल


काठमाडाैँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग (एनएसएल) को आयोजनाले नेपाली फुटबललाई नयाँ उचाईमा लैजाने आशा व्यक्त गरे ।

झम्सिखेलमा आइतबार भएको एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रमको  अवसरमा मन्त्री पोखरलले हरेक खेलको फ्रेन्चाइज लिगले खेलकुदको विकासमा महत्वपूर्ण भुमिका  खेल्ने  बताएका हुन् ।

यसअघि नेपाल प्रिमियर लिग (एनपिएल) ले पनि नेपाली क्रिकेटको विकासमा राम्रो  भुमिका खेलेको उल्लेख गर्दै एनएसएल पनि त्यस्तै माध्यम रहेको उनको भनाइ छ ।

मन्त्री पोखरेलले आजको दिनसम्म खेलकुदमा निजी क्षेत्रलाई राम्रोसँग जाोड्न नसकेको दाबी गरे । तर फ्रेन्चाइज लिगले नेपालको कर्पोरेट क्षेत्रलाई पनि खेलकुदमा जोडेर अघि बढ्नु सुखद् पक्ष रहेको मन्त्री पोखरेल बताउँछन् । खेलकुद विकासमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेकाले सरकार पनि सँगै अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे ।

निजी क्षेत्रकै साथले विश्वका चर्चित व्यावसायिक लिग अघि बढिरहेको उनले बताए । खेलकुदभित्र राजनीति नगरी आफ्नो सरकार अगाडि बढ्ने उनको भनाइ छ । खेलकुदभित्र लगानी बढाउने र ग्रासरुटलाई प्रोत्साहित गर्ने उनी बताउँछन् ।

अहिले शिक्षा र खेलकुद एकै ठाउँमा राखेर सरकार अघि बढेको उल्लेख गर्नै मन्त्री पोखरेलले ग्रासरुटदेखि नै खेल विकासका लागि शिक्षा क्षेत्रबाट नै सम्भव रहेको बताए । नेपालको भविष्यका खेलाडी विद्यालयमा नै रहेकाले त्यसक्षेत्र नै लगानी बढाउन आवश्यक  रहेको उनले बताए ।

नेपाल २७ हजार विद्यालय रहेको र त्यसमा लाखौं विद्यार्थी बढ्ने भएकाले त्यहाँ लगानी बढाउनुपर्ने मन्त्री पोखरेलले उललेख गरे । पाठ्यक्रममा नै खेलकुद विषय समावेश गर्न सरकारले कार्यद नै बनाएर अगाडि बढ्न चाहेको उनले बताए ।

नेपाल आर्मी, एपिएफ र पुलिसमा राम्रो खेलाडी आउनुको पछाडि त्यहाँ राम्रो डाइट र तालिक रहेको उनकाे बुझाइ छ । त्यस्तै व्यवस्था सानैदेखि खेलाडीलाई आवश्यक रहेको उनी बताउँछन् । उनले अबको १०/१५ वर्षमा खेल विकास गर्न सम्भव रहेको बताए । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगै सबै पक्ष मिलेर नेपाली फुटबल अगाडि बढाउन आग्रह गरे ।