सरकारले मानव तस्करीमा संलग्नहरुमाथि कडा कारबाही गर्नुंपर्छः खुश्वु ओली


काठमाडाैँ । प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कुवेत लगायतका मुलुकहरुमा नेपाली मानव तस्करहरुले १० देखि १२ लाखमा नेपाली महिलाहरुलाई वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको जिकिर गर्दै त्यस्ता गिरोहमाथि तत्काल पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।

प्रमुख सचेतक ओलीले सरकारले खाडी मुलुकहरुमा घरेलु कामदारहरुलाई पठाउने कुरा प्रतिबन्ध लगाएपनि मानव तस्करहरुले विभिन्न बाटो प्रयोग गरेर ती देशहरुमा पठाउने गरेको उल्लेख गर्दै त्यसमा निगरानी राख्न पनि सरकारलाई सचेत गराए ।

उनले भने, ‘शर्मिला दर्जीलाई कुवेतमा नेपाली राज्यले तुरुन्त खोजी गरोस् । म नेपाल सरकारलाई यस विषयमा ध्यानाकर्षण पनि गराउन चाहन्छु । यो एउटा प्रतिनिधि घटना मात्रै हो सभामुख महोदय । यस्ता अरु हजारौ घटनाहरु छन् । यी सब घटनालाई केलाउन हामी सन् २०१७ मा जानुपर्ने हुन्छ । नेपाल सरकारले सन २०१७ देखि नेपाली नागरिक विशेष गरी नेपाली महिलाहरुलाई घरेल काममा विदेश जान प्रतिबन्ध लगाएको थियो । सरकारको तर्क थियो–शोषणबाट उनीहरुलाई सुरक्षा दिनु । के यो प्रतिबन्धले साँच्चै महिलाहरुलाई सुरक्षित बनायो त रु प्रतिबन्धले घरेलु कामदारको रुपमा बैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन । अहिले तस्करहरुले कुवेतमा १० देखि १२ लाखमा नेपाली महिलाहरु बेच्ने काम गरिरहेका छन् ।’

प्रमुख सचेतक ओलीले सरकारले वैदेशिक रोजगारीका कारण पीडा सहन बाध्य नेपाली नागरिकको उद्धार कार्यमा ढिलाई गर्न नहुने पनि बताइन् ।