सुशासनको नाममा सरकारले निजी क्षेत्रलाई आतंकित बनाउने कार्य गर्‍योः एमाले सांसद झाँक्री


काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई बिना कसुर पक्राउ गरेर सरकारले निजी क्षेत्रलाई आतंकित बनाउने कार्य गरेको आरोप लगाइन् ।

सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले रिसेड्युल एसेट र लेक्विडेसनसम्बन्धी विषयमा प्रचलित कानून तथा बैंकिङ प्रणालीको मर्म नबुझी बैंकका सिईओमाथि आक्षेप लगाएर पक्राउ गर्नु कानूनको मर्मविपरित रहेको भन्दै निन्दा गरिन्।

उनले वचतकर्ताको निक्षेप परिचालन गर्ने बैंक नेतृत्वलाई नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गइसकेको सम्पती कसको हो ? भन्ने प्रश्नकै आधारमा पक्राउ गर्नु गैरकानूनी भएको बताइन् । उनले सुशासन र प्रभावकारी सेवा प्रवाहको नाममा सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने काम गरिरहेको भन्दै आपत्ति जनाइन् ।

उनले भनिन्, ‘केही दिनअघि इनभेस्टमेन्ट मेघा बैंकको सिईओलाई प्रहरीले समात्यो । आरोप के छ भने लेक्वोडेसनमा गएको रिसेड्युल एसेट कसको हो भनेर सिईओले भन्नुपर्ने । तर बैंक र प्रचलित कानूनको हिसावले के भन्छ भन्ने कुराको हेक्का नभईकन जनता र बचतकर्ताको ऋण प्रवाह गर्ने सिईओ र त्यसको संरक्षण गर्ने सिईओलाई सम्पती कसको हो र प्राथमिकता कसको हुन्छ भनेर कुरिबस्नुपर्छ जस्ता आक्षेप र लञ्छानाले बैंक का सिईओ समात्ने र निजी क्षेत्रलाई आतंकित गर्ने, काम गर्न नदिने जे आतंक सरकारले सुशासन र प्रभावकारी सेवा प्रवाहको नाममा गरिरहेको छ यो निन्दनीय छ । त्रसाएर शासन गर्ने दिन ढिलो चाँडो जान्छ । त्यसैले यसमा ध्यान दिएर सरकारले प्रचलित कानूनको हेक्का राखोस् ।’

उहाँले प्रचलित कानूनको हेक्का राख्न समेत सरकारलाई चेतावनी दिइन् ।