काठमाडौँ । नेपाल धितोपत्र बोर्ड अध्यक्षको लागि ४ जनाको नाम सर्टलिस्ट गरिएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको हो ।
अर्थ मन्त्रालयअन्तर्गत गठित समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ उपदफा (३) बमोजिम बोर्ड अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्येबाट छनोट गरी नाम सार्वजनिक गरेको हो ।
डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट सर्टलिस्टमा परेका छन् ।
समितिले सार्वजनिक गरेको सूचनाअनुसार सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई व्यक्तिगत विवरण पेस गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको छ ।
उनीहरूको अन्तर्वार्ता असार ८ गते आइतबार अर्थ मन्त्रालय, सिंहदरबार काठमाडौंमा हुने सूचनामा उल्लेख छ । समितिका अनुसार अधिकारीको अन्तर्वार्ता बिहान १ बजे, आचार्यको १ः३० बजे, क्षेत्रीको दिउँसो २ बजे र भट्टको २ः३० बजे तय गरिएको छ ।
समितिले २०८३ वैशाख १५ मा बोर्ड अध्यक्ष हुन इच्छुक व्यक्तिहरूको व्यक्तिगत विवरण माग गरेको थियो भने तोकिएको समयमा ४७ जनाले आवेदन दिएका थिए ।
सिफारिस समितिको अध्यक्षमा राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्य रहेका छन् । बोर्ड अध्यक्षबाट सन्तोष नारायण श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्