प्रतिनिधि सभामा सरकारको आलोचना : ‘जनताको विश्वास कमजोर हुँदै गयो’


काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले सरकारप्रति जनविश्वास क्रमशः कमजोर हुँदै गएको भन्दै चर्को आलोचना गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरु रिङ्गला यादव, रिना उप्रेती र रिमा विश्वकर्मालगायतले सरकार कमजोर, प्रभावहीन र जनउत्तरदायी बन्न नसकेको आरोप लगाए ।

सांसद रिङ्गला यादवले पश्चिम नवलपरासीका उखु किसानले पाउनुपर्ने रकम अझै नपाएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउँदै उखु किसानको ५४ करोड रुपैयाँभन्दा बढी रकम अझै चिनी उद्योग सञ्चालकहरुको कब्जामा रहनु गम्भीर आर्थिक अन्याय भएको बताइन् ।

उनले भनिन्, “वर्षौंदेखि पसिना बगाएर उत्पादन गरेको उखुको मूल्य नपाउँदा किसान ऋण, अभाव र निराशामा धकेलिएका छन् । सरकारकै उपस्थितिमा भएका सहमति कार्यान्वयन हुन नसक्नु राज्य संयन्त्रको कमजोरी हो । किसानको अधिकार सुनिश्चित गर्न नसक्ने सरकारप्रति जनताको विश्वास कमजोर हुँदै गएको छ ।”

यस्तै ढिलासुस्ती र उदासीनता जारी रहे उखु खेती नै संकटमा पर्ने यादवले चेतावनी दिइन् ।

यस्तै, सांसद रिना उप्रेतीले सरकारले स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाए । प्रेसलाई आतंकित बनाउने गतिविधि तत्काल बन्द गर्न सरकारलाई सचेत गराउँदै उनले लोकतन्त्रमा स्वतन्त्र प्रेसको संरक्षण अनिवार्य रहेको बताइन् ।

उनले भनिन्, “स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्ने र यसको भूमिका संकुचित गराउने नीति अघि सार्नु खेदजनक हो । प्रेसलाई आतंकित गराउने, नियन्त्रण गर्ने र असहयोग गर्ने कुनै पनि सत्तालाई लोकतान्त्रिक भन्न सकिँदैन ।”

उनले प्रेस क्षेत्रलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था अघि बढाउन पनि सरकारसँग माग गरिन् ।

त्यसैगरी, सांसद रिमा विश्वकर्माले छुवाछुत तथा जातीय विभेद अन्त्य गर्न सरकारलाई चुनौती दिँदै जातीय हिंसालाई दलित समुदायको मात्र मुद्दा ठान्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताइन् ।

उनले भनिन्,“अझै पनि जातीय हिंसालाई दलितको मात्रै मुद्दा ठान्ने हाम्रो समाजको दोषी दृष्टिकोण बदल्न आवश्यक छ । सदियौंदेखि विभेदमा परेका दलित समुदायप्रति क्षमायाचना मात्र होइन, ठोस क्षतिपूर्ति पनि आवश्यक छ ।”

उनले सरकारलाई आफ्नै कार्यकालभित्र छुवाछुत तथा जातीय विभेद अन्त्य गर्ने दिशामा प्रभावकारी कदम चाल्न आग्रह गरिन् ।