काठमाडौँ । उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रियाविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
श्रीधरा कुमारी पुडासैनीको इजलासले महासङ्घ विरुद्ध आज कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि जेठ ८ गते मिति तोकेर प्रक्रिया पनि सुरु भइसकेको छ ।
मिति तय भएपछि प्रक्रिया मिचिएको भन्दै हेमराज ढकाल, किशोर प्रधान, नरेन्द्र खड्का र प्रल्हाद दाहालले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।
रिटमाथीका सुनुवाई गर्दै अदालतले कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । निषेधाज्ञा माग गर्दै दायर गरिएको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेर भाेली(जेठ ७) गतेका लागि नै पेशी ताेकिएकाे छ ।
रिटमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र केन्द्रीय कार्यकारिणी समितिलाई विपक्षी बनाइएको छ ।
अदालतले अब दुबैपक्षसँगको छलफलपछि अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरत दिने कि नदिने टुङ्गो लगाउने छ ।



प्रतिक्रिया दिनुहोस्