उद्योग वाणिज्य महासङ्घमा अध्यक्ष श्रेष्ठ समूहमा फुट,कोषाध्यक्षमा अम्बिकाप्रसाद पौडेलको उम्मेदवारी घोषणा


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा अम्बिका प्रसाद पौडेलले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनको प्रक्रियाको पूर्वसन्ध्यामा पौडेलले कोषाध्यक्षमा उम्मेदावरी घोषणा गरेका हुन् । पौडेलको उम्मेदवारी घोषणासँगै अध्यक्ष अञ्जन श्रेष्ठको समूहमा फुट आएको छ ।

पौडेललाई एसोसिएट्स उपाध्यक्ष प्रवलजंग पाण्डेले अगाडि सारेका थिए । साधारण सभामा अध्यक्ष अञ्जन श्रेष्ठ र उपाध्यक्ष पाण्डे एउटै समूहबाट चुनाव लडेका थिए । तर कार्यकालको प्रारम्भिक चरणमा अञ्जन समूहमा विभाजन आएको छ ।

पौडेलले अञ्जन समूहबाटै एसोसिएट्सबाट केन्द्रीय कार्यकारिणी समिति सदस्य जितेका थिए ।

श्रेष्ठले मनिषलाल प्रधानलाई कोषाध्यक्षमा अगाडि सारेका थिए । तर, अध्यक्ष श्रेष्ठकै समूहबाट पौडेलले पनि उम्मेदावरी घोषणा गरेपछि महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनमा तीनओटा समूह देखिएको छ ।

पौडेललाई हेमराज ढकाल समूहले समर्थन गर्ने तयारी गरेको छ ।

कोषाध्यक्षमा पौडेलले उम्मेदवारी घोषणा गर्दै सार्वजनिक गरेको धारणा
आदरणीय व्यवसायी साथीहरू,
नमस्कार ।

आउँदो जेठ ८ गते सम्पन्न हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासङ्घको कोषाध्यक्ष पदको निर्वाचनमा मैले आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने निर्णय गरेको छु । यो निर्णय मैले कुनै व्यक्तिगत आकांक्षा वा पद प्राप्तिको उद्देश्यले नभई व्यवसायी समुदायको साझा भावना, संस्थागत विकासप्रतिको प्रतिबद्धता तथा महासङ्घलाई अझ सक्षम, प्रभावकारी, बिधि र बिधान अनुसार अघि बढाउन र सबैको अपनत्व भएको संस्था बनाउने दृढ संकल्पका साथ अघि बढाएको हुँ ।

महासङ्घको कार्यकारी सदस्यका रूपमा यो मेरो तेस्रो कार्यकाल हो । यहाँसम्म आइपुग्दा तपाईंहरू सबैको माया, विश्वास, सद्भाव र निरन्तर साथका कारण म प्रत्येक पटक उत्कृष्ट मतसहित निर्वाचित हुँदै आएको छु । यो मेरो लागि गौरवको विषय मात्र नभएर झन ठूलो जिम्मेवारीको अनुभूति पनि हो । त्यसका लागि सम्पूर्ण व्यावसायी साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

यसअघि मैले पूँजी बजार फोरम तथा कर तथा राजस्व समितिको सभापतिको जिम्मेवारी निर्वाह गर्ने अवसर पाएको थिएँ । ती भूमिकामा रहँदा व्यवसायीका आवाज सरकारसम्म पु¥याउने, कर तथा राजस्वसम्बन्धी जटिलताहरू समाधानका लागि पहल गर्ने, ।कर , भन्सार , अन्तशुल्क लगायतका कानुनका व्यवहारिक समस्याहरू उठान गर्ने तथा निजी क्षेत्रका हितका पक्षमा निरन्तर संवाद र सहकार्य गर्ने प्रयास गर्दै आएको छु ।

मेरो विश्वास छ– बलियो अर्थतन्त्रका लागि बलियो निजी क्षेत्र आवश्यक हुन्छ र बलियो निजी क्षेत्रका लागि सक्षम, पारदर्शी तथा उत्तरदायी नेपाल उद्योग वाणिज्य महासङ्घ उत्तिकै अपरिहार्य हुन्छ । त्यसैले मेरो उम्मेदवारी केवल एउटा पद मात्र ओगट्ने बहाना होइन, संस्थागत सुशासन, व्यवसायीहरूको सम्मान र अधिकारको संरक्षण तथा महासङ्घलाई अझ गतिशील, प्रभावकारी र सम्पूर्ण व्यवसायीहरूको साझा घर बनाउने उद्देश्यका लागि हो ।

म चाहन्छु– हरेक व्यवसायीले महासङ्घलाई “मेरो संस्था” भन्ने अनुभूति गरून् । साना, मझौला वा ठूला सबै व्यवसायीका आवाज समान रूपमा सुनिने वातावरण निर्माण होस् । संस्था केही व्यक्तिको मात्र नभई सम्पूर्ण व्यवसायी समुदायको साझा थलोका रूपमा अझ सशक्त बनोस् ।
हिजो जसरी तपाईं व्यवसायी साथीहरूको विश्वास जितेर काम गरेको थिएँ, आगामी दिनमा अझ बढी समर्पण, इमानदारी, मेहनत र जिम्मेवारीका साथ संस्थाको हितमा निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।

म पुनः स्पष्ट र दृढ रूपमा समस्त व्यवसायी साथीहरूलाई विश्वास दिलाउन चाहन्छु कि यो मेरो निर्णय कुनै व्यक्तिगत महत्वाकांक्षाको यात्रा नभई संस्थागत विकासको सशक्त अभियान हो, व्यवसायीहरूको आत्मविश्वास र अपेक्षाको सम्मान गर्दै महासङ्घको गरिमा, विश्वसनीयता र प्रभावकारितालाई अझ उच्च शिखरमा पु¥याउने साझा संकल्प हो ।
त्यसैले तपाईंहरूको साथ, सुझाव, विश्वास र अमूल्य समर्थनको अपेक्षा गर्दै म कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दछु ।
धन्यवाद ।