काठमाडाैँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरुलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागेको जानकारी दिएका छन् ।
आइतबार आयोजित एक कार्यक्रममा उनले विदेशी विश्वविद्यालयसंवद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकोले नियमन गर्नको लागि नियमावली ल्याउन लागेको जानकारी दिएका हुन् । उनकाअनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको छ ।
ती मन्त्रालयहरुको स्वीकृत तथा रायपछि मन्त्रिपरिषद्मा पेश गरिने उनले जानकारी दिए । विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको उनको भनाइ छ । विदेशी विश्वविद्यालयसंवद्ध कलेजलाई कुन आधारमा सम्बन्धन दिने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय नियमावलीमार्फत स्पष्ट गर्ने उनले बताए ।
नेपाली विश्वविद्यालय र कलेजहरू नियमनमा रहेपनि विदेशी सम्बन्धन प्राप्त कलेजहरू व्यवस्थित रूपमा नियमन हुन नसकेको उनले बताए । उनकाअनुसार शिक्षा मन्त्रालयले हाल तीन वटा नियमावली एकसाथ अघि बढाइरहेको छ ।
त्यसमध्ये शिक्षा नियमावली, शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्था नियमनसम्बन्धी नियमावली तथा विदेशी विश्वविद्यालयसंवद्ध कलेज नियमनसम्बन्धी नियमावली रहेका छन् । शिक्षा ऐन तत्काल संसद्को चालु अधिवेशनमा ल्याउन नसकिएकोले शिक्षा नियमावली अगाडि बढाइएको उनले जानकारी दिए ।
उनले विद्यालयमा शिक्षक दरबन्दी मिलानको लागि पनि कार्य अगाडी बढाईसकिएको जानकारी दिए । स्थानिय तहसंगको समन्वयमा दरबन्दी मिलानको कार्य अघि बढिरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्