काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाले बेरुजु व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अब ठूला अस्पताल केन्द्रित गराउन लागिएको बताएका छन् ।
सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले ठूला अस्पतालहरूमा केन्द्रित बेरुजुमा विशेष विश्लेषण गरेर फर्स्याैट प्रक्रिया अघि बढाउने योजना रहेको बताए । उनकाअनुसार धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा मात्र करिब ५ अर्ब रूपैयाँभन्दा बढी बेरुजु देखिएको छ, जुन कुल बेरुजुको करिव एक चौथाई बराबर हो ।
सचिव देवकोटाले यस्ता ठूला अस्पतालहरूमा रहेको बेरुजुको प्रकृति विश्लेषण गरेर लक्षित रूपमा फस्र्यौट गर्ने कार्ययोजना बनाइएको जानकारी दिए ।
उनकाअनुसार आगामी आर्थिक वर्षमा बेरुजु फस्र्यौटका लागि विशेष कार्यक्रमहरू समेत समावेश गरिएको छ, जसले सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै फर्स्याैट प्रक्रियालाई तीव्रता दिनेछ । सचिव देवकोटाले वार्षिक खरिद प्रक्रियासँग सम्बन्धित बेरुजु धेरै देखिएको उल्लेख गर्दै केन्द्रबाट दररेट निर्धारण गर्ने प्रणाली लागू गर्न सके बेरुजु घटाउन सहयोग पुग्ने बताए ।
सचिव देवकोटाले भने, “हामीले अब अस्पतालमा केन्द्रित हुनुप¥यो । खासगरी यदि आँकडा हे¥यौँ भने अहिलेसम्मको हिसाब गर्दाखेरि ठुला अस्पतालहरू, खासगरी धरान र वीर अस्पतालको मात्र हे¥यौँ भने कुल लगभग ५ अर्बभन्दा बढी बेरुजु देखिन्छ । त्यो भनेको करिव–करिव एक चौथाइको हाराहारीमा हो । त्यो हिसाबले यस्ता ठूला अस्पतालहरूमा बेरुजु फछ्र्यौट कसरी हुने, कस्ता किसिमका बेरुजु छन् भनेर एनालाइसिस गरेर फोकस टारगेटेड काम गर्ने प्लान छ ।”
उनले हाल खरिद प्रक्रियासँग सम्बन्धित बेरुजु ठूलो मात्रामा रहेको भन्दै केन्द्र, प्रदेश र स्थानीय तहमा एकीकृत दररेट प्रणाली लागू गर्नसके धेरै समस्या समाधान हुने बताए ।



प्रतिक्रिया दिनुहोस्