एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली


काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा नेपालमा एमालेमार्थी चौतर्फी घेराबन्दी रहेको बताएका छन् । पार्टी कार्यलय च्यासलमा केन्द्रिय सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा उनले पार्टीमाथी भइरहेको घेराबन्दीलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।

उनले विगत केही वर्ष अगाडीदेखी नै एमालेमाथी घेराबन्दी हुँदै आएको बताए । आगामी निर्वाचनमा पनि एमालको विरुद्धमा मोर्चाबन्दी हुनसक्ने उल्लेख गरे । एमालेविरुद्धको २०७७ सालदेखि नै घेराबन्दी शुरु हुन लागेको उनको आरोप छ ।

२०७७ सालमा पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ साल भदौ १० गते पार्टी विभाजन गराएको बताए । २०७९ सालको निर्वाचनमा विभिन्न राजनीतिक दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उनको भनाइ छ ।

त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि एमालेलाई बलियो बनाउन लाग्नुपर्ने बताए । उनले सामाजिक सञ्जालमार्फत एमाले पार्टी र नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास हाल पनि जारी रहेको आरोप लगाए । उनले पार्टीभित्र कै केही नेताका गलत गतिविधिका कारण पनि थप चुनौती उत्पन्न भएको बताए । 

अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र कमजोर बनाउने काम भइरहेको पनि आरोप लगाए । नेपालको राष्ट्रिय अस्मितामा आँच पु¥याएर स्वाधीनता र स्वतन्त्रता कमजोर पारिएको उनको दाबी छ ।

नेपालको स्वाधीनता र स्वतन्त्रताको पुनःस्थापनाका लागी आन्दोलनमा उत्रिनपर्ने अवस्था समेत आउन सक्ने उनले बताए । आन्दोलनका क्रममा दमन भएमा त्यसको प्रतिवाद गर्ने उनको भनाइ छ ।

उनले आन्दोलन न्याय, शान्ति र अग्रगमनका लागि हुनुपर्ने बताए । तर नेपालमा आगजनी र लुटपाटलाई आन्दोलन भनेर आन्दोलनकै अपव्याख्या भईरहेको उनको भनाइ छ ।

पार्टीका सदस्यहरूलाई उनले निष्ठापूर्वक सक्रियताका काममा लाग्न निर्देशन दिए । पार्टीमा अब विगतलाई हेरेर मात्रै मुल्यांकन नहुने बताए । नीति र नेतृत्वप्रतिको ईमानदारिता र कर्मशिलतालाई पनि मुल्यांकनको आधार बनाईने उनको भनाइ छ ।