काठमाडौँ । मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४ खर्ब २७ अर्ब २७ करोड रूपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले गत वर्षको सोही अवधिको तुलनामा कुल निक्षेप २०.९० प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.१७ प्रतिशतले वृद्धि भई ३ खर्ब ५३ अर्ब ४२ करोड रूपैयाँ पुगेको थियो ।
२०८२ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिको तुलनामा २.३९ प्रतिशतले वृद्धि भई ५ खर्ब ७ करोड रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २.१७ प्रतिशतले वृद्धि भई ४ खर्ब ८८ अर्ब ३८ करोड रूपैयाँ रहेको थियो ।
निक्षेप परिचालन र कर्जा प्रवाहको आँकडालाई तुलना गर्दा अन्य प्रदेशहरुमा संकलन भएको वित्तीय स्रोत मधेश प्रदेशमा स्थानान्तरण भई त्यसको उपयोग भएको देखिएको छ ।
मधेश प्रदेशमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या एक हजार ७५९ रहेको छ । गत वर्षको सोही अवधिमा यस प्रदेशमा सञ्चालित बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या एक हजार ७६३ रहेको थियो ।
सञ्चालनमा रहेका शाखाहरूमध्ये वाणिज्य बैंकको ५८७, विकास बैंकको ८६, वित्त कम्पनीको ५३ र लघुवित्तको एक हजार ३३ शाखाहरू रहेका छन् ।
जिल्लागत आधारमा शाखाहरुको उपस्थिति सबैभन्दा बढी धनुषा, बारा र सर्लाही जिल्लामा रहेको छ भने सबैभन्दा कम रौतहट जिल्लामा रहेको छ ।
समीक्षा अवधिमा यस प्रदेशमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको एटिएम संख्या ५११ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा जम्मा ५१० रहेको थियो । सबैभन्दा बढी एटिएम संख्या धनुषा जिल्लामा ८३ वटा र सबैभन्दा कम रौतहट जिल्लामा ४४ वटा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्