तिब्र गतिका सवारी साधनका कारण दुर्घटनाको जोखिम बढेको भन्दै सांसद श्रेष्ठद्वारा संसदमा ध्यानाकर्षण


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले सडकमा गुड्ने अत्यधिक भारवाहक सवारी साधनको तिब्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकाी छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद श्रेष्ठले ललितपुरको कार्यविनायक–नखु सडकखण्डमा भएको एक दुर्घटनाको उदाहरण दिँदै सुरक्षा चुनौतीबारे चर्चा गरे ।

सांसद श्रेष्ठले निर्धारित गति सीमाभन्दा कैयौँ गुणा बढी गतिमा सवारी चलाउने प्रवृत्ति बढेको उल्लेख गरे । यस्ता सवारी साधनहरूको अवस्था जीर्ण हुने, टायर खिइएका हुने र ब्रेकले समेत राम्रोसँग काम नगर्ने हुँदा दुर्घटनाको जोखिम उच्च रहेको उनले बताए ।

विशेष गरी बिहानको समयमा काठमाडौँ उपत्यका छिर्ने र भित्री सडकमा गुड्ने सवारी साधनहरूमा यो समस्या बढी देखिएको उनको दाबी छ । ट्राफिक प्रहरीले हालैका दिनमा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने र सामाजिक सञ्जालमार्फत सचेतना फैलाउने कार्य सकारात्मक रहेको उल्लेख गर्दै उनले कार्यविनायक–नखु लगायतका क्षेत्रमा निगरानी बढाउन माग गरे ।

उनले भने, ‘नर्मल स्पिड लिमिट ३० किलोमिटर प्रतिघण्टा तोकिएको स्थानमा यस्ता हेभी लोड बोकेका सवारीहरू ८० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने गरेका छन् ।’

सांसद श्रेष्ठले सभामुखमार्फत सम्बन्धित निकायलाई तिब्र गतिका सवारी साधनलाई तत्काल नियन्त्रण गरी सडक सुरक्षा कायम गर्न आग्रह गरे ।