बिमा प्राधिकरणको अध्यक्ष पदको लागि आवेदन खुला


काठमाडौं । नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । सरकारले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन आह्वान गरेको हो ।

समितिले आगामी जेठ १९ गतेभित्र अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको सचिवालयमा बायोडाटा र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ ।

बिमा क्षेत्रको नियामक निकायको नेतृत्व चयनका लागि यसपटक सरकारले शैक्षिक योग्यता, व्यवस्थापकीय अनुभव र नैतिक आचरणलाई मुख्य आधार बनाएको देखिएको छ ।

सूचनाअनुसार अध्यक्ष पदका लागि उम्मेदवारले बीमा, बैंकिङ, अर्थशास्त्र, व्यवस्थापन, कानुन, जनप्रशासन, गणित, तथ्यांकशास्त्र, इन्जिनियरिङ वा वाणिज्यशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव आवश्यक पर्नेछ ।

त्यस्तै भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा अन्य फौजदारी कसुरमा सजाय नपाएको, कालोसूचीमा नरहेको तथा विदेशी स्थायी बसोबास अनुमति (पीआर) नलिएको हुनुपर्ने मापदण्ड पनि राखिएको छ । उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।