असोजमा नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी, विभिन्न देशका व्यवसायी पनि सहभागि हुने


काठमाडौँ । आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ आयोजना हुने भएको छ ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घ र नेपाल जग्गा तथा आवास विकास सङ्घको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वार्षिकोत्सव (हिरक जयन्ती)को अवसर पारेर प्रर्दशनी हुन लागेको हो ।

संविधानले नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको ‘आवासको हक’ कार्यान्वयनमा टेवा पुर्‍याउने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको प्रदर्शनी संयोजक रोशन भोयद्याले जानकारी दिए ।

प्रदर्शनीले रियल इस्टेट व्यवसायीहरू तथा उपभोक्तालाई एउटै थलोमा ल्याई नयाँ प्रविधि, उत्पादन र बजारको वास्तविक अवस्था बारे जानकारी दिने संयोजक भोद्याका विश्वास छ ।

नेपाल जग्गा तथा आवास विकास सङ्घको ११ औँ साधारण सभाको अवसरमा काठमौँमा पत्रकार सम्मेलन गरेर प्रर्दशनीबारे जानकारी गराइएएको हो । प्रर्दशनीमा नेपालसहित मलेसिया, बङ्गलादेश, इन्डोनेसिया, भियतनाम र भारतका व्यवसायीमा पनि सहयोगी हुने संयोजक भोयद्याले जानकारी दिए ।

प्रदर्शनीमा घरजग्गा विकासकर्ता, अपार्टमेन्ट तथा आवास आयोजना, निर्माण सामग्री उत्पादक, इन्जिनियर र आर्किटेक्ट, बैंक तथा बीमा कम्पनीलगायत स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

मेलामा भवन तथा जग्गा विकास योजना, आधुनिक फर्निचर, विद्युत सामग्री, सिमेन्ट, स्टिल, सौर्य ऊर्जा प्रविधि, इन्टेरियर डिजाइन, भिआर/एआरजस्ता अत्याधुनिक प्रविधिहरू प्रदर्शन गरिनेछ ।

विज्ञद्वारा प्रत्यक्ष परामर्श सेवा र नयाँ उत्पादन सार्वजनिक गर्ने अवसर पनि उपलब्ध गराइने महासङ्घले जनाएको छ ।

आयोजकले मेला सरोकारवालाहरू-व्यवसायी, उपभोक्ता, लगानीकर्ता, प्राविधिक तथा सरकारी निकायलाई एउटै साझा मञ्च उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् ।

यसले नीतिगत समस्या समाधान र निजी–सरकारी सहकार्य मजबुत बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

हालको आर्थिक सुस्तताकाबिच आयोजना हुने मेलाले घरजग्गा कारोबारलाई सरल, पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुर्‍याउने तथा उपभोक्तालाई सुरक्षित लगानीका लागि प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

प्रदर्शनीले दीगो, पर्यावरणमैत्री तथा व्यवस्थित सहरीकरणको विकासमा योगदान पुर्‍याउँदै भविष्यको आवास क्षेत्रको मार्गचित्र तयार गर्न समेत भूमिका खेल्ने आयोजकको दाबी छ ।