काठमाडौँ । गाउँमा उत्पादन भएको दूध सहरमा बिक्री हुँदा वार्षिक करिब २८ अर्ब रुपैयाँ सहरबाट गाउँतर्फ प्रवाह भइरहेको छ। ग्रामीण अर्थतन्त्रलाई दैनिक रूपमा चलायमान बनाउने प्रमुख क्षेत्रका रूपमा रहेको दुग्ध क्षेत्रको महत्व उजागर गर्दै राष्ट्रिय दुग्ध विकास बोर्डले विश्व दुग्ध दिवस २०८३ को पूर्वसन्ध्यामा तथ्यांकसहितको प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।
हरेक वर्ष जुन १ तारिख (नेपालमा जेठ १९ गते) मनाइने विश्व दुग्ध दिवस यस वर्ष “दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने नाराका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले सन् २००१ देखि विश्व दुग्ध दिवस मनाउन थालेको हो भने नेपालले सन् २०११ देखि यो दिवस मनाउँदै आएको छ।
राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार नेपालमा करिब ३ लाख ८० हजारदेखि ४ लाख परिवार प्रत्यक्ष रूपमा दुग्ध व्यवसायमा संलग्न छन्। दूध उत्पादन, संकलन, ढुवानी, प्रशोधन र बिक्री–वितरणमा लाखौँ मानिसको रोजगारी जोडिएको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा वैदेशिक रोजगारीका अवसर सीमित भएका कारण दुग्ध व्यवसाय ग्रामीण जीविकोपार्जनको भरपर्दो आधार बनेको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा देशभर २७ लाख १८ हजार १७७ मेट्रिक टन दूध उत्पादन भएको बोर्डले जनाएको छ। कुल उत्पादनमध्ये १३ लाख २ हजार ९४ मेट्रिक टन गाईको दूध र १४ लाख १६ हजार ८३ मेट्रिक टन भैँसीको दूध रहेको छ। अघिल्लो वर्षको तुलनामा दूध उत्पादन १.२८ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।
बोर्डका अनुसार नेपालको कृषि कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान करिब २५ प्रतिशत रहेको छ, जसमा दुग्ध क्षेत्र प्रमुख उपक्षेत्रका रूपमा रहेको छ। दुग्ध विकास संस्था, निजी डेरी उद्योग, चिलिङ सेन्टर, पशु आहार उद्योग, पशु औषधि उद्योग तथा ढुवानी व्यवसाय प्रत्यक्ष रूपमा दुग्ध क्षेत्रसँग जोडिएका छन्। यस कारण दुग्ध क्षेत्रलाई ग्रामीण अर्थतन्त्रको मेरुदण्ड तथा कृषि औद्योगिकीकरणको आधार मानिएको छ।
दूध पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण खाद्य पदार्थ मानिन्छ। दूधमा प्रोटिन, क्याल्सियम, ल्याक्टोज, खनिज पदार्थ तथा विभिन्न भिटामिन पाइने भएकाले यसले बालबालिकाको वृद्धि विकास, रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा स्वस्थ जीवनयापनमा महत्वपूर्ण योगदान पुर्याउँछ। बोर्डका अनुसार ३ प्रतिशत चिल्लो पदार्थ र ८ प्रतिशत एसएनएफ भएको १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी ऊर्जा प्राप्त हुन्छ।
नेपालमा बाल कुपोषण अझै चुनौतीका रूपमा रहेको अवस्थामा दूधलाई प्रभावकारी पोषण स्रोतका रूपमा हेरिएको छ। दूधमा पाइने प्रोटिन, क्याल्सियम तथा भिटामिनहरूले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउने विज्ञहरूको भनाइ छ। विभिन्न स्थानमा सञ्चालन गरिएका ‘स्कुल मिल्क कार्यक्रम’ ले विद्यालयमा बालबालिकाको उपस्थिति र पोषण अवस्थामा सकारात्मक सुधार ल्याएको अध्ययनले देखाएको छ।
दुग्ध क्षेत्रले ग्रामीण अर्थतन्त्रमा नगद प्रवाहको महत्वपूर्ण स्रोतका रूपमा काम गरिरहेको छ। किसानहरूले दैनिक रूपमा दूध बिक्रीबाट प्राप्त गर्ने आम्दानीले छोराछोरीको शिक्षा, स्वास्थ्य सेवा, घर निर्माण तथा कृषि लगानीमा खर्च गर्न सक्ने अवस्था सिर्जना गरेको छ। यस कारण दुग्ध क्षेत्रलाई ग्रामीण अर्थतन्त्रको ‘क्यास फ्लो सिस्टम’ समेत भनिन्छ।
दूध संकलनतर्फ हेर्दा देशभर उत्पादित दूधमध्ये करिब १५ प्रतिशत मात्र औपचारिक रूपमा दुग्ध उद्योगमार्फत संकलन हुने गरेको छ। बाँकी दूध स्थानीय बजार तथा अनौपचारिक प्रणालीमार्फत बिक्री–वितरण हुने गरेको अनुमान गरिएको छ। यसले दुग्ध क्षेत्रको थप व्यवसायीकरण, प्रशोधन क्षमता विस्तार र बजार व्यवस्थापनको आवश्यकता देखाएको बोर्डले जनाएको छ।
नेपालमा हाल दुग्ध विकास संस्था र निजी क्षेत्रका गरी ९ वटा धूलो दूध उद्योग सञ्चालनमा छन्। ती उद्योगहरूले २०८२ सालमा करिब ४ करोड ९७ लाख ९८ हजार ८६० लिटर दूध प्रशोधन गरी ४ हजार १५० मेट्रिक टन धूलो दूध उत्पादन गरेका छन्। उत्पादन बढी हुने समयमा दूधलाई धूलो दूधमा रूपान्तरण गरी माग बढी हुने समयमा प्रयोग गर्न सकिने भएकाले यस्ता उद्योगहरूले बजार सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।
दुग्धजन्य पदार्थको निर्यातमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट ४ अर्ब ६३ करोड ८९ लाख रुपैयाँ बराबरका दुग्धजन्य पदार्थ निर्यात भएका छन् भने १४ करोड २४ लाख रुपैयाँ बराबरका दुग्धजन्य पदार्थ आयात भएका छन्। पछिल्ला चार वर्षको तथ्यांक विश्लेषण गर्दा दुग्धजन्य पदार्थको निर्यात करिब ७१ प्रतिशतले वृद्धि भएको देखिन्छ, जुन अन्य धेरै कृषि उत्पादनको तुलनामा सन्तोषजनक मानिएको छ।
बोर्डले दुग्ध क्षेत्रसँग सम्बन्धित मूल्य शृंखलामा पशुपालन, दूध संकलन, प्रशोधन, ढुवानी, पशु आहार उत्पादन, पशु स्वास्थ्य सेवा र बजार व्यवस्थापनमा हजारौँ व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आबद्ध रहेको जनाएको छ। यसले दुग्ध क्षेत्रलाई नेपालको सबैभन्दा ठूलो कृषि आधारित आर्थिक गतिविधिमध्ये एक बनाएको छ।
विश्व दुग्ध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजनमा पशु सेवा विभाग, दुग्ध विकास संस्था, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघलगायतका निकायको सहभागितामा साताव्यापी कार्यक्रम सञ्चालन गरिने भएको छ। विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, दूधपान कार्यक्रम, वृद्धाश्रममा दूध वितरण, उपभोक्ता सचेतना अभियान, गोष्ठी तथा दुग्ध क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ।
बोर्डले दुग्ध क्षेत्रलाई पोषण, रोजगारी, खाद्य सुरक्षा, ग्रामीण समृद्धि र आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्रका रूपमा व्याख्या गर्दै यसको दिगो विकासका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको जनाएको छ। साथै दूध तथा दुग्धजन्य पदार्थको उत्पादन, प्रशोधन, गुणस्तर सुधार र निर्यात प्रवर्द्धनमा जोड दिन सके नेपालले अन्तर्राष्ट्रिय बजारमा समेत थप अवसर प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेको छ।
विश्व दुग्ध दिवसले दूध केवल खाद्य पदार्थ मात्र नभई पोषण सुरक्षा, ग्रामीण आय, रोजगारी सिर्जना र राष्ट्रिय आर्थिक समृद्धिको आधारस्तम्भ भएको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। वार्षिक २८ अर्ब रुपैयाँभन्दा बढी रकम सहरबाट गाउँतर्फ प्रवाह गरिरहेको दुग्ध क्षेत्रले नेपालको ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउँदै देशको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको हाे।
विश्व दुध दिवसको यो वर्षको मुल समारोह काठमाडौँमा सोमवार आयोजना हुँदैछ । बोर्डको संयोजकत्वमा पशु सेवा विकासग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड, नेपाल डेरी साइन्स एसोसिएसन लगायतको समन्वयमा कार्यक्रम हुँदैछ ।
सरोकारवाला संस्थाहरुले देशैभर जेठ १४ गतेदेखि विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् भने जेठ १९ गतेसम्म सप्ताहव्यापी दुग्ध सचेतनाका कार्यक्रमहरु आयोजना भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्