नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३ /८४ को बजेटले निजी क्षेत्रको मनोबल उकास्ने र सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेको छ।
चेम्बरका अध्यक्ष कमलेश अग्रवालले बजेट केही महत्वाकांक्षी भए पनि सफल कार्यान्वयन हुन सके मुलुक आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गर्ने बताउनुभयो। चेम्बरले आफूले दिएका अधिकांश सुझाव बजेटमा समेटिएको भन्दै सरकारप्रति आभार पनि व्यक्त गरेको छ।
चेम्बरले व्यक्तिगत आयकरको सीमा १० लाख रुपैयाँ पुर्याइनु, ३६० प्रकारका वस्तुमा अन्तःशुल्क हटाइनु, २७३ औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइनु, स्टार्टअपलाई कर छुट तथा एनआरएनलाई दोस्रो बजारमा लगानी खुला गर्ने व्यवस्थालाई सकारात्मक कदमका रूपमा स्वागत गरेको छ।
यद्यपि बिजुली र राइड सेयरिङ सेवामा लगाइएको ५ प्रतिशत भ्याट तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा थप कर लगाउने व्यवस्थाबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ।
अध्यक्ष अग्रवालले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य असम्भव नभएको उल्लेख गर्दै बजेटका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भए अपेक्षाभन्दा राम्रो आर्थिक नतिजा हासिल गर्न सकिने बताए।



प्रतिक्रिया दिनुहोस्