वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ


काठमाडौँ । फरार रहेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

सिंह नागरिकता लिखतसम्बन्धी कसुरमा पक्राउ परेका हुन् । आज बिहान उनलाई ठोरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकले जानकारी गराएका छन् । उनविरूद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो ।

पर्सा जिल्ला अदालतले लिखत सम्बन्धी मुद्दामा राजेशमान, सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगञ्ज.महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी राय विरूद्ध पक्राउ पुर्जी जारी छ ।

नगरप्रमुख राजेशमानले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई छोरी बनाएर फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाइदिएको आरोप छ ।

अर्काकी छोरीलाई आफ्नो बनाएर जन्मदर्ता गरेर नागरिकता, राहदानी बनाई विदेश पठाएको आरोप सिंहमाथि छ ।

उनीवरुद्ध पर्सा जिल्ला अदालतमा लिखतसम्बन्धी कसुर, झूटा विवरण पेस गरी नागरिकता र राहदानी बनाएको आरोपमा मुद्दा छ ।