बुटवल । लुम्बिनी प्रदेशमा सरकार पुर्नगठनको चर्चा चलिरहेका बेला नेकपा एमालेका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।
भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती तथा स्वास्थ्यमन्त्री खेम सारुले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्रीसहित लुम्बिनी सरकारमा एमालेका पाँच मन्त्री रहेकामा चार जनाको एकैपटक राजीनामाले मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अगाडि बढेको संकेत गरेको छ।
सत्ता साझेदार नेपाली कांग्रेसले आलोपालो नेतृत्वको सहमति अनुसार मुख्यमन्त्री आफ्नो दलले पाउनुपर्ने अडान राख्दै आएको छ। यहीबेला एमालेले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर नयाँ अनुहार ल्याउने तयारी गरेको देखिन्छ ।
मन्त्रीहरूको सामूहिक राजीनामाले लुम्बिनी सरकारको आगामी संरचना र सत्ता साझेदारीबारेको बहसलाई थप तीव्र बनाएको छ।



प्रतिक्रिया दिनुहोस्