सुनकोशी गाउँपालिकाः सवारी मर्मत र इन्धनमा मात्रै करिब ४७ लाख रूपैयाँ खर्च


काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकाले वार्षिकरूपमा इन्धन खर्च २१ लाख ८७ हजार ४८४ रूपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०८१ ८२ का पालिकाले वार्षिक इन्धन पदाधिकारीमा ११ लाख २८ हजार ४६३ रूपैयाँ र कार्यालय प्रयोजनमा १० लाख ५९ हजार २१ रूपैयाँ खर्च गरेको हो ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुबिधा सम्बन्धी ऐन, २०७७ को दफा ४ (२) बमोजिम सवारी साधन उपलव्ध गराएकोमा अध्यक्ष तथा उपाध्यक्षले मासिक ८० लिटर ईन्धन र ५ लिटर मोबिल त्रैमासिक, वडा अध्यक्षलाई मासिक २० लिटर ईन्धन र १ लिटर मोबिल त्रैमासिक पाउने उल्लेख छ।

त्यस्तै प्रदेश सरकारको प्रदेश खर्च मापदण्ड निर्देशिका २०७७ को दफा १७ अनुसार अनुसूची ४ बमोजिम कार्यालय प्रमुखले मासिक ७० लिटर र राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहका कर्मचारीले मासिक १० लिटर ईन्धन पाउने उल्लेख छ। पालिकाले पदाधिकारी कार्यालय प्रयोजन अन्य प्रयोजन समेत ६ वटा चार पाङ्ग्रे र १९ वटा दुई पाङ्ग्रे सवारी साधन सहित २५ सवारीमा २१ लाख ८७ हजार ४८४ रूपैयाँ खर्च गरेको छ।

महालेखा परीक्षकले पालिकाले ईन्धन खर्च सम्वन्धी मापदण्ड तयार गरी ईन्धन खर्चमा मितव्ययीता कायम गर्न ऐन र खर्च मापदण्ड निर्देशिकाको पालना गर्दै सवारी लगबुक माईलेज, अभिलेख तथा मर्मतबाट बृद्धि भएको माईलेज समेतको आधारमा मितिव्ययीता कायम गर्न भनेको छ ।

पालिकाका पदाधिकारी, कार्यालय प्रयोजन र अन्य प्रयोजन समेत ६ वटा चार पाङ्ग्रे लोडर सहित र १९ दुई पाङ्ग्रे सवारीको गरी २५ सवारी साधन मर्मत गरेबापत करिब २५ लाख रूपैयाँ खर्च गरेको छ । महालेखा अनुसार पालिकाले २४ लाख ९० हजार ८८१ रूपैयाँ सवारी साधन मर्मतमा खर्च गरेको हो ।

महालेखाले खरिद कानुनको प्रकृया नअपनाई मर्मत गराउँदा मितव्ययिता दक्षता पारदर्शिता तथा टिकाउपना हुने गरी काम भएको छ भन्ने आधार नदेखिएकोले खरिद कानुनको पालना गरी मर्मत गराउन भनेको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम १३को उपनियम ५ मा मर्मत गरिने सवारी साधनको दक्ष प्राविधिकबाट लागत अनुमान स्वीकृत गराउनु पर्ने, यस नियमावलीको प्रकृया अपनाई मर्मत संम्भार गराउनु पर्ने सामाग्री मर्मत गराउदा कुनै मालसामान पार्टपूर्जा वा उपकरण प्रतिष्थापन गर्नु पर्ने भए यस नियमावलीको प्रकृया अपनाई खरिद गर्नु पर्ने हुन्छ ।

यसरी खरिद गरेको सामानको जिन्सी दाखिला गराई ५ हजार रूपैयाँभन्दा बढी मूल्यका सामानको अभिलेख राखी प्रतिस्थापन गरिएको कुरा सम्वन्धित प्राविधिकबाट प्रमाणित गराई पुराना सामान जिन्सी दाखिला गर्नु पर्ने उल्लेख छ ।

खरिद कानुनको प्रकृया नअपनाई मर्मत गराउँदा मितव्ययिता दक्षता पारदर्शिता तथा टिकाउपना हुने गरी काम भएको छ भन्ने आधार नदेखिएकोले खरिद कानुनको पालना गरी मर्मत गराउनु पर्ने महालेखाले उल्लेख गरेको छ ।