सुनकोशी गाउँपालिकाः खेलकुद सामग्री खरिदको सक्कली बिल पेश गर्न महालेखाको सुझाव, अन्यथा थापाबाट असुल गर्नुपर्ने


काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रपति रनिङ्ग शिल्डको सामान खरिद गर्दाको सक्कली बिल पेश गर्न महालेखाले सुझाव दिएको छ ।

पालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड संचालनको लागि राजन थापाको नाममा एक लाख ५० हजार रूपैयाँ पेश्की भुक्तानी गरेको थियो ।

पेश्की फस्र्यौट गर्दा पेश गरेको कागजातमा एस स्पोर्टस एण्ड म्यूजिक सेन्टर भोटाहिटी काठमाडौँ बिल नं ६०३ मिति २०८१ पुष २५ गतेको दुई ओटा प्रिन्ट बिलबाट मेडल लगायतका खेलकुद सामाग्री खरिद गरेको उल्लेख गरेको छ । उक्त बिलमा २ लाख ४६ हजार ८४८ रूपैयाँ थापाकै नाममा भुक्तानी लिएको देखिएको महालेखाले उल्लेख गरेको छ ।

२ लाख ४६ हजार ८४८ रूपैयाँ थापाको नाममा भुक्तानी लिएको देखिएकोले उक्त समाग्री खरिदको सक्कल बिल पेश गर्नुपर्ने अन्यथा राजन थापाबाट असुल गर्नुपर्ने महालेखाले जनाएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (१०) मा जिम्मेवार व्यक्तिले सरकारी रकमको खर्च लेख्नु अघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल भरपाई र कागजात संलग्न भए वा नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे वा नपुगेको जाँच गर्नु पर्ने उल्लेख छ ।