एआईको प्रयोगले ऊर्जा र पानीको चरम संकट निम्त्याउन सक्ने सुरेन्द्र पाण्डेको चेतावनी


काठमाडाैँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम संकट निम्त्याउनसक्ने चेतावनी दिएका छन् । 

राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले उहाँले यसका विरुद्ध नीतिगत र नियमनको तयारी थाल्नुपर्ने बताए । पाण्डेले एआईको युगमा प्रवेश गरिसकेको वर्तमान समयमा यसका नकारात्मक वातावरणीय असरहरूलाई नजरअन्दाज गर्न नमिल्ने बताएका हुन् ।

उनकाअनुसार एआईका ठूला डाटा सेन्टरहरू सञ्चालन गर्न अत्यधिक ऊर्जा र पानीको आवश्यकता पर्छ । यसले आउने दिनमा वातावरणीय संकट, जलवायु परिवर्तन र वनविनाश जस्ता गम्भीर समस्याहरूलाई थप भयावह बनाउन सक्छ ।

एआईको प्रयोग नेपाली किसान र कृषि क्षेत्रको आधुनिकीकरणका लागि अनिवार्य रहेको उल्लेख गर्दै उनले प्रविधिको आवश्यकता र यसले निम्त्याउने वातावरणीय क्षतिबीच सन्तुलित व्यवस्थापन खोज्नुपर्ने चुनौती रहेको औँल्याए । किसानलाई आवश्यक पर्ने डाटा र प्रविधिको लाभ सुरक्षित तवरले दिलाउनु नै आजको मुख्य आवश्यकता रहेको उनको तर्क थियो ।

उपाध्यक्ष पाण्डेले समाजशास्त्री इमानुएल वालरस्टिनको सिद्धान्तलाई प्रश्तुत गर्दै ज्ञानको राजनीति र आर्थिक शोषणको नयाँ स्वरूपबारे सचेत गराए ।