काठमाडौं । नेकपाका नेता वर्षमान पुनले संसदको गतिरोध अन्त्यका लागि आवश्यक वातावरण निर्माण गर्न सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र साहले भारतसँगको सीमा सम्बन्धमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने र संसदको अभिलेखबाट हटाउनुपर्ने प्रतिपक्षको अडान यथावत रहेको बताए।
पुनले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने माग दोहोर्याउँदै त्यसबिना सदन सञ्चालन गर्न कठिन हुने संकेत गरे।
“प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सच्याइनुपर्छ र संसदको रेकर्डबाट हटाइनुपर्छ भन्ने प्रतिपक्षको अडान कायमै छ,” उनले भने।
उनका अनुसार संसद सुचारु गराउने विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीबाट विभिन्न विकल्प प्रस्तुत भएका छन्। ती प्रस्ताव सकारात्मक भए पनि अझै निष्कर्षमा नपुगेकाले थप छलफल आवश्यक रहेको उनले बताए।
पुनले दलहरूबीच सहमतिको वातावरण बनाउन सभामुखले केही समय बैठक स्थगित गरेर थप संवादको पहल गर्नुपर्ने धारणा राखे।
“सभामुखले बैठक केही समय रोकेर आजै थप छलफलको वातावरण बनाइदिनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ,” उनले भने।
पुनले प्रतिपक्षी दलहरू संसद नियमित सञ्चालन हुनुपर्ने पक्षमा रहेको पनि स्पष्ट पारे।
– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस्