न्युयोर्क । एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा लगानीकर्ताहरूबाट २५० अर्ब अमेरिकी डलरभन्दा बढीको माग आएको छ। कम्पनीले ७५ अर्ब डलर संकलन गर्ने लक्ष्य राखेकाले यो माग प्रस्तावित आकारभन्दा करिब साढे तीनदेखि चार गुणा बढी रहेको बताइएको छ।
रोयटर्सका अनुसार स्पेसएक्सको आईपीओ इतिहासकै सबैभन्दा ठूलो सार्वजनिक निष्कासन बन्ने सम्भावना देखिएको छ। कम्पनीप्रति दीर्घकालीन लगानी कोषहरू संस्थागत लगानीकर्ताहरूको उल्लेख्य चासो देखिएको छ।
आईपीओको प्रचारप्रसार रोडशो क्रममा स्पेसएक्सले आफ्नो रकेट प्रक्षेपण सेवा र स्टारलिंक इन्टरनेट व्यवसायको बलियो अवस्थालाई प्रमुख रूपमा प्रस्तुत गरेको छ। कम्पनीले अन्तरिक्षमा आधारित कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार विकासमार्फत २३ ट्रिलियन डलरको सम्भावित बजार अवसर रहेको दाबी पनि गरेको छ।
स्पेसएक्सका अनुसार अन्तरिक्षमा डाटा सेन्टर तथा अन्य पूर्वाधार स्थापना गरेर पृथ्वीमा रहेका ऊर्जा र कम्प्युटिङ क्षमताका सीमितताहरू समाधान गर्न सकिन्छ। कम्पनीले स्टारलिंकमार्फत विश्वभर इन्टरनेट पहुँचबाट वञ्चित ३ अर्बभन्दा बढी मानिसलाई जोड्ने लक्ष्यसमेत दोहोर्याएको छ।
आईपीओको अन्तिम मूल्य निर्धारण बिहीबार हुने अपेक्षा गरिएको छ भने हालको माग अन्तिम मूल्य तय नभएसम्म परिवर्तन हुन सक्ने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्