काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले नेपालको हवाई क्षेत्रको विकासका लागि हवाई रुटको उपलब्धता र विमानस्थल निर्माणको वर्तमान लगानी ढाँचामा पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आफ्नो धारणा राख्दै महानिर्देशक डंगोलले यस्तो बताएका हुन् । उनले भू–परिवेष्ठित मुलुक नेपाल ‘स्काइ–लक्ड’ (आकाशबाट थुनिएको) हुनु नहुने भन्दै हवाई रुटमा लचकता चाहिने बताए ।
महानिर्देशक डंगोलका अनुसार नेपाल भित्रिने हवाई प्रवेश बिन्दुहरू अत्यन्त सीमित हुँदा सिमरा क्षेत्रमा हवाई ट्राफिकको चाप बढेको छ । सन् २०१६ मा भारत सरकारसँग भएको समझदारी बमोजिम महेन्द्रनगर, भैरहवा र जनकपुरका रुटहरूलाई द्विपक्षीय बनाउने प्रयास भए पनि प्राविधिक कारणले कार्यान्वयनमा आउन नसकेको उनले स्पष्ट पारे ।
उनले भने, “नीतिगत तहमा सहमति भएपनि प्राविधिक तहमा काम बाँकी छ । दुवै मुलुकका उड्डयन निकायहरूले एउटै समयमा एरोनटिकल इन्फरमेसन पब्लिकेसनमा रुटहरू प्रकाशित गर्नुपर्ने हुन्छ । सन् २०१९ पछि कोभिडका कारण संवाद टुटेकोमा हालै माननीय परराष्ट्र मन्त्रीको भारत भ्रमणका क्रममा यो विषय पुनः उठेको छ ।”
यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानस्थल प्राधिकरण बीचको संयुक्त प्राविधिक टोलीको बैठक छिट्टै बस्ने तयारी भइरहेको उनले जानकारी दिए । गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा बोल्दै महानिर्देशक डंगोलले ठूला पूर्वाधारमा गरिएको ऋण लगानीले प्राधिकरणलाई टाट पल्टिने अवस्थामा पु¥याउन सक्ने चेतावनी दिए । उनले अब नयाँ विमानस्थल बनाउनुभन्दा भएका ५५ वटा विमानस्थलको सुरक्षा र स्तरउन्नतिमा जोड दिनुपर्ने बताए ।
उनले भने, “आजकै तरिकाले विमानस्थल बनाउँदै जाने हो भने ऋणको दायित्वले समस्या निम्त्याउँछ । हाम्रो लगानीको प्राथमिकता निर्माणबाट सरेर हवाई सुरक्षा र दक्षतातर्फ केन्द्रित हुनुपर्छ । यस विषयमा संसदीय समितिले स्पष्ट दिशा निर्देश गर्न आवश्यक छ ।”
विमानस्थल सञ्चालनका लागि विदेशी वायुसेवाको मात्र भर पर्न नहुने भन्दै डंगोलले स्वदेशी वायुसेवा कम्पनीहरूको विकासमा जोड दिए । सिङ्गापुर र कतारको उदाहरण दिँदै उनले भने, “हाम्रा विमानस्थल तब चल्छन् जब हाम्रा आफ्नै वायुयानहरूको सङ्ख्या बढ्छ । अहिले हामीले पसल त थाप्यौँ तर ग्राहक पर्खेर बस्नुपर्ने अवस्था छ ।”
उनले नेपालमा जहाज भित्र्याउँदा लाग्ने भ्याट लगायतका अतिरिक्त खर्चले लगानीकर्तालाई निरुत्साहित गरेको भन्दै व्यावसायिक वातावरण निर्माणका लागि एकीकृत प्रयास आवश्यक रहेको बताए ।
बैठकमा उठेका प्राविधिक प्रश्नहरूको जवाफ दिँदै डंगोलले तुम्लिङटार विमानस्थलमा जाडोयाममा हुने उडान अवरोध र भौगोलिक जटिलताबारे पनि चर्चा गरे । त्यस्तै, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार र सेवा सुविधामा देखिएका समस्या समाधानका लागि दैनिक र साप्ताहिक रूपमा मन्त्रालयमा रिपोर्टिङ भइरहेको र सुधारका कामहरू जारी रहेको उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्