टेम्पो घरसम्म पुर्‍याइदिए पनि धामीले पुनः ल्याएका थिए: डिभिजन वन कार्यालय कैलाली


काठमाडौँ । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. ४ स्थित गोदावरी सामुदायिक वनको गाईमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने सिलसिलामा वन कर्मचारीले सडकमा राखेको टेम्पो भीरबाट खसालेको भन्ने विषय प्रति डिभिजन वन कार्यालय कैलालीले ध्यानाकर्षण भएको जनाएको छ ।

उल्लिखित अतिक्रमित वन क्षेत्र नेपालकै अत्यन्त संवेदनशिल र कमजोर पर्यावरणीय प्रणाली रहेको चुरे क्षेत्र अन्तर्गत पर्ने र यस क्षेत्रमा सडक किनारको सार्वजनिक वन क्षेत्रलाई गैरकानूनी ढङ्गले भागबण्डा गरी भित्री रूपमा बेचबिखन गर्ने र खोका छाप्राहरू खडा गरी सरकारी वन जमिन कब्जा गर्ने श्रृंखला विगत लामो समयदेखि चल्दै आएकोले वन प्रशासनले यसलाई समयसमयमा नियन्त्रण गर्दै आइरहेको उल्लेख गरिएको छ ।

यसै क्रममा विगत ५ महिना अघिदेखि सो क्षेत्रमा पुनः अवैध खोका छाप्राहरू खडा गरिएका थिए । सामाजिक सञ्जालमा प्रचार गरिए जस्तो उक्त टेम्पो कुनै गुड्ने वा चालु हालतमा रहेको सवारीसाधन नभई चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको र धकेलेर सार्न समेत गाह्रो हुने फलामे अस्थिपञ्जर मात्र थियो, जसलाई केवल वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले पसलको टहरो (खोका) को रूपमा त्यहाँ स्थापना गरिएको जनाएको छ।

सो कवाडी ढाँचालाई एक महिना अगाडि नै हटाउन निर्देशन दिँदा सँगैका अन्य १० छाप्राहरू हटे तापनि सो कथित टेम्पोका सञ्चालक घनश्याम धामीले अटेर गरी नहटाएकोमा वन कर्मचारीहरुले धकेलेर उक्त टेम्पोलाई निजको घरसम्म पुर्याई दिएका थिए। तत् पश्चात उक्त टेम्पो निजले पुनः सोही ठाउँमा ल्याई राखी पसल सञ्चालन गर्दै आएका थिए। यस पटक पनि उक्त टेम्पोलाई हटाउन निर्देशन दिँदा निजले टेम्पो नहटाउने, जे गरे गर्नुस भन्दै अटेर गरी गालीगलौजमा उत्रेका थिए, विज्ञप्तीमा भनिएको छ ।

२०८३ जेठ २९ गते पुनः अतिक्रमण हटाउने अभियान चलिरहेको अवस्थामा वन टोलीले सो गुडाउन नमिल्ने टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोजेको र सोही क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सो कवाडी टेम्पोको अस्थिपञ्जर अनियन्त्रित भई दुर्घटनावश भीरबाट खस्न पुगेको जनाएको छ ।