मुस्ताङमा नियन्त्रणमा लिइएका बीवाइडी विद्युतीय सवारी फुकुवा


मुस्ताङ । मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बीवाइडी कम्पनीका ७७५ विद्युतीय सवारीसाधनलाई सशस्त्र प्रहरीले दुई सातापछि फुकुवा गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म जोमसोमका अनुसार आइतबार साँझदेखि जोमसोम र कोरलानाकामा नियन्त्रणमा रहेका सवारीसाधन सम्बन्धित पक्षलाई जिम्मा लगाएर गन्तव्यतर्फ पठाउन थालिएको हो।

गत जेठको दोस्रो र तेस्रो सातामा कोरलानाका हुँदै नेपाल भित्रिएका ती सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत हुनसक्ने आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले स्थलगत अध्ययनपछि विद्युतीय सवारीसाधनमा कुनै कैफियत नदेखिएको प्रारम्भिक निष्कर्ष निकालेको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार जोमसोममा राखिएका २६६ सवारीमध्ये २२३ वटा आइतबार र सोमबार गन्तव्यतर्फ पठाइसकिएको छ भने ४३ वटा मात्रै बाँकी छन्। कोरलानाकामा रहेका भन्सार जाँचपास भएका सवारीसाधन पनि क्रमशः गन्तव्यतर्फ पठाइँदै छन्।

छानबिनबाट कैफियत नदेखिएपछि नियन्त्रणमा रहेका सबै विद्युतीय सवारीसाधन फुकुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ।