काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावटको क्रम बिहीबार पनि जारी रहेको छ। अघिल्लो कारोबार दिन उच्च दरले घटेको सुनको भाउ आज थप १०० रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको थियो।
यससँगै सुनको मूल्य लगातार दोस्रो दिन घटेको देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
पछिल्ला दिनमा सुन–चाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएकाले लगानीकर्ता तथा उपभोक्ताले बजारको गतिविधिलाई नजिकबाट नियालिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्