काठमाडाैँ । युक्रेनले दोस्रो विश्वयुद्धका विवादित लडाकुहरूको नाममा सैन्य इकाईको नाम राख्ने निर्णय गरेपछि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई दिइएको पोल्यान्डको सर्वोच्च सम्मान, ‘अर्डर अफ द व्हाइट इगल’ फिर्ता गरिएको छ ।
पोल्यान्डका राष्ट्रपति कारोल नावरोक्कीले दोस्रो विश्वयुद्धका विवादित लडाकुको नाममा सैन्य एकाइको नाम राख्ने युक्रेनको गत महिनाको निर्णयलाई अपमानजनक ,अस्पष्ट र गम्भीर निराशाजनक भनेर टिम्प्पणी गरेका छन् ।
यद्यपि, नावरोक्कीले यो कूटनीतिक विवादले रुस विरुद्ध युक्रेनलाई पोल्याण्डले गर्ने सहयोगमा कुनै असर नपर्ने भने उनले स्पष्ट पारेका छन् ।
युक्रेनका विदेश मन्त्री एन्ड्री सिबिहाले पोल्यान्डको यस कदमको निन्दा गर्दै यसलाई रणनीतिक गल्ती र अपमानजनक भनेकाे बिबिसीले उल्लेख गरेकाे छ ।
युक्रेनका धेरै मानिसहरू सन् १९४० र १९५० को दशकमा अस्तित्वमा रहेको विद्रोही समूह युपिएलाई सोभियत रेड आर्मीका साथै नाजी जर्मनी र पोलिस अधिकारीहरू विरुद्ध युक्रेनी स्वतन्त्रताका लागि लड्ने नायकका रूपमा लिन्छन् ।
त्यसैले युक्रेनीहरूका लागि ‘हिरोज अफ द युक्रेनी इन्सर्जेंट आर्मी’ उपाधि एक ठूलो सम्मान हो ।
तर, पोल्यान्डले भने सन् १९४३–४५ मा भोलिनिया (अहिले युक्रेनको भोलिन) मा जातिगत पोलिस नागरिकहरूको नरसंहार गराएको आरोप यपिएमाथि लगाउँदै आएको छ ।
राष्ट्रपतिको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको एक भिडियोमा नावरोक्कीले भनेका छन्, “पोलिस समाजको ठुलो जनमतको नजरमा यपिए दोस्रो विश्वयुद्धको समयमा पोल्यान्ड गणतन्त्रका नागरिकहरू विरुद्ध गरिएका क्रूर अपराधहरूको लागि जिम्मेवार सङ्गठनको रूपमा रहेको छ ।”
उनले थपे, “त्यसैले युक्रेनी अधिकारीहरूले यपिएको महिमामन्डन गर्ने निर्णय,अपमानजनक मात्र होइन, यो अस्पष्ट र गहिरो निराशाजनक पनि छ । यसले हाम्रो ऐतिहासिक स्मृतिलाई मात्र चोट पुर्याउँदैन, यसले वर्षौंदेखि र भर्खरका महिनाहरूमा निर्माण भएको विश्वासलाई पनि कमजोर बनाउँछ ।”
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण रूपमा आक्रमण सुरु गरेपछि आफ्नो देशमा स्वागत गरिएका लाखौं युक्रेनी शरणार्थीहरूको प्रसंगलाई पनि पोल्यान्डका राष्ट्रपतिले औंल्याएका छन् ।
उनले युक्रेनलाई स्मरण गराएका छन्,“पोलिस नागरिकहरूले लाखौं युक्रेनीहरूका लागि आफ्ना सीमाना, आफ्ना घर र आफ्ना मनहरू खोलेका थिए ।”



प्रतिक्रिया दिनुहोस्