प्राइम कमर्सियल बैंकले ल्यायो ३ अर्बको १० वर्षे डिबेञ्चर


काठमाडौँ। लगानीकर्तालाई निश्चित प्रतिफल दिने उद्देश्यसहित प्राइन कमर्सियल बैंक लिमिटडले ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर निष्कासन गर्ने भएको छ। बैंकले असार १६ गतेदेखि ‘प्राइम बैंक डिबेञ्चर २०९३’ सार्वजनिक बिक्रीमा ल्याउन लागेको हो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेञ्चर जारी गर्नेछ। यसमध्ये १८ लाख कित्ता व्यक्तिगत (प्राइभेट प्लेसमेन्ट) माध्यमबाट बिक्री गरिनेछ भने १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।

सार्वजनिक निष्कासनतर्फको १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

यो डिबेञ्चरको अवधि १० वर्ष रहनेछ भने लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। डिबेञ्चरमा न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाका शाखाबाट दिन सकिनेछ।

बैंकका अनुसार निष्कासन छिटोमा असार १९ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा असार ३० गते बैंकिङ समयपछि बन्द हुनेछ।

यस डिबेञ्चरको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिलट लिमिटेड रहेको छ। बैंकले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट बाट असार ३ गते स्वीकृति प्राप्त गरेको थियो।

बजारमा सेयरको उतारचढावबाट बच्दै नियमित आम्दानी खोज्ने लगानीकर्तालाई लक्षित गर्दै बैंकले दीर्घकालीन ऋण उपकरण बजारमा ल्याएको हो।