बेलायती प्रधानमन्त्री केइर स्टार्मरले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सम्बाेधन गर्दै आफ्नो राजीनामाकाे निर्णय सार्वजनिक गरेका हुन् ।
राजीनामापछि अब लेबर पार्टीभित्र नेतृत्व चयनको प्रक्रिया कसरी अघि बढ्छ भन्नेतर्फ सबैको ध्यान केन्द्रित भएको छ । पार्टीले खुला प्रतिस्पर्धा गराउने वा आफ्नो रोजाइको उम्मेदवारलाई प्रत्यक्ष नेतृत्व दिने भन्ने विषय अहिले चर्चाको विषय बनेको छ ।
स्टार्मरले आफ्नो राजीनामा सम्बोधनमा भने, “म आफ्नो पार्टीलाई नेतृत्व चयन प्रक्रियाको समयतालिका तय गर्न आग्रह गर्छु ।”
उनका अनुसार सो प्रक्रियाका लागि मनोनयन जुलाई ९ मा खुल्नेछ र एक सातापछि संसद बिदा हुनु अगाडी नै सम्पन्न गरिनेछ ।
“यदि प्रतिस्पर्धा भएको अवस्थामा सेप्टेम्बरमा संसद पुनः सुरु हुनुभन्दा अघि नै नयाँ नेताको चयन भइसक्नेछ,” स्टार्मरले स्पष्ट पारे ।
प्रतिस्पर्धा सम्पन्न नभएसम्म आफु प्रधानमन्त्री पदमा रहिरहने उनकाे भनाइ छ ।
एन्डी बर्नह्यामलाइ अबकाे नेतृत्वकाे दाबेदार मानिएकाे छ । मेकरफिल्ड उपनिर्वाचनमा उनले हासिल गरेको जीतले उनलाई लेबर पार्टीको नेतृत्वका लागि बलियो दाबेदार बनाएको छ । धेरै विश्लेषकहरूले उनलाई पार्टीको स्वाभाविक उत्तराधिकारीको रूपमा हेरे पनि अहिलेसम्म कुनै औपचारिक निर्णय भने भइसकेको छैन ।
पार्टीका अन्य वरिष्ठ नेताहरू पनि यो दौडमा सहभागी हुन सक्ने सम्भावना रहेको छ । यदि नेतृत्व चयन प्रक्रिया लामो समयसम्म तानियो भने सरकारका लागि अस्थिरता निम्त्याउन सक्ने विज्ञहरूको आकलन छ ।



प्रतिक्रिया दिनुहोस्