काठमाडौँ । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरेको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ ।
२०८० पुष मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षण प्रतिवेदन तथा आ.ब. २०८१÷८२ को पहिलो त्रयमासको गैरस्थलगत विवरण अनुसार सुपरिवेक्षकीय समायोजन पछि पोखरा फाइनान्सको न्यूनतम पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको भन्दा पनि कम थियो ।
राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात भन्दा अत्यन्त न्यून देखिएकोले २०८१ माघ २३ गतेको पत्रानुसार पोखरा फाइनान्सलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिम कारवाही गरेको थियो ।
राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनी बिच एकीकृत कारोबार सुरु हुने मितिबाट कारबाही फुकुवा हुने जनाएको छ ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग एक आपसमा गाभ्ने÷गाभिने प्रयोजनार्थ समितिको २०८३ वैशाख १७ गतेको निर्णयबाट अन्तिम स्वीकृति प्रदान भए पश्चात् पोखरा फाइनान्सको २०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा कायम हुने संयुक्त प्राथमिक पुँजी ६.०६ प्रतिशत र पुँजीकोष अनुपात १०.८० प्रतिशत रहने देखिएकोले समितिको मिति २०८३ असार १० गतेको निर्णयबाट समृद्धि फाइनान्ससँग एकीकृत कारोबार शुरु हुने मितिदेखि लागू हुने गरी पोखरा फाइनान्सको कारवाही फुकुवा गरेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्