काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
सहसंयोजक नेपालले विदेशी शक्तिहरुले चलखेल गर्न खोजिरहेको उल्लेख गर्दै त्यसप्रति शतर्क भएर अघि बढ्ने काम पनि नेपालका कम्युनिष्ट पार्टीहरुले नै गर्नुपर्ने आवश्यकता औँल्याए ।
विदेशीहरुले देशमा हालीमुहाली नचलाउन, राष्ट्रिय हितमा कुठाराघात नगरुन र हाम्रो छिमेकीहरुका विरुद्धमा गतिविधिको केन्द्र नेपाललाई नबनाउन भन्ने कुरामा नेपालमा कम्युनिष्ट पार्टीहरुले शतर्कता अपनाएर अघि बढनुपर्ने उनको भनाई थियो । सहसंयोजक नेपालले जनताको अधिकार कुठाराघात गर्ने कोशिसहरु भइरहेको पनि बताए।
उनले भने,‘विदेशीहरुले देशमा हामीमुहाली नचलाउन् । हाम्रो राष्ट्रिय हितमा कुठाराघात नगरुन् । र हाम्रो छिमेकीहरुका विरुद्धमा गतिविधिको केन्द्र नेपाललाई नबनाउन् । यसमा हामीले बहुमत शतर्क हुनुपर्दछ । वर्तमान सरकारको यस सन्दर्भमा रवैया शंकास्पद छ । जसरी विदेशी शक्तिहरु चलखेल गर्न खोजिरहेका छन् । त्यसप्रति हामी सबभन्दा पहिला शतर्क हुनुपर्दछ । सँगसँगै जनताका अधिकारहरुमाथि कुठाराघात गर्ने अनेकखालका कोशिसहरु भईरहेका छन । त्यसो हुनाले लोकतन्त्र जोगाउन, गणतन्त्रको रक्षा गर्न पनि कम्युनिष्टहरुले नै अग्रसरता लिनुपर्दछ ।’
सहसंयोजक नेपालले लोकतन्त्रको रक्षा र गर्न गणतन्त्र जोगाउन पनि नेपालमा कम्युनिष्ट पार्टीहरुले अग्रसरता दिनुपर्ने अवस्था आएको बताए ।



प्रतिक्रिया दिनुहोस्